झापा, कार्तिक ७ । ट्रकमा आगो लगाएर चालकको हत्या गरेको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँका ९ जना समर्थक हिजो जेल चलान भएका छन । कर्तव्य ज्यान मुद्दामा उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । बयानका लागि झापा जिल्ला अदालतमा उपस्थित गराइएका उनीहरूलाई अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताउनु भयो ।
ज्यान मुद्दामा कारागार चलान हुनेहरूमा हल्दिबारी –१ स्थायी ठेगाना भई हाल बिर्तामोड ५ बस्ने राष्ट्र, राष्ट्रियता ,धर्म ,संस्कृति ,नागरिक बचाउ महाअभियानको भ्रातृ सङ्गठन पीडीएफका झापा संयोजक ४० वर्षीय भीम तुम्बापो लिम्बू, पीडीएफका सहसचिव बिर्तामोड–७ बस्ने ३३ वर्षीय सुरेश चौधरी, पीडीएफका सदस्यहरू हल्दिबारी १ बस्ने २४ वर्षीय विवश लिम्बू, बुद्धशान्ति–४ बस्ने बलिहाङ माबो लिम्बू, पीडीएफका मेचीनगर इन्चार्ज मेचीनगर–६ बस्ने ३४ वर्षीय राजेश महत, पीडीएफका कोषाध्यक्ष अर्जुनधारा–९ बस्ने ३८ वर्षीय रुद्र भुजेल, पीडीएफका सल्लाहकार हल्दिबारी–१ बस्ने ५१ वर्षीय वीरबहादुर गुरुङ, पीडीएफका सदस्य बिर्तामोड–३ बस्ने ३५ वर्षीय उदय लिम्बू र पीडीएफकै सदस्य बाह्रदशी–६ बस्ने अन्दाजी २४ वर्षीय खगेन्द्र राजवंशी रहेका छन ।
उनीहरूले आगजनी गरेको भारतीय ट्रकका चालकको मृत्यु भएपछि कर्तव्य ज्यानमा कारबाही अगाडी बढाएको थियो । झापा जिल्ला अदालतबाट आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा म्याद थप लिई अनुसन्धान भइरहेकोमा भारतमा उपचारार्थ ट्रक चालक पद रायको गत असोज १९ गते मृत्यु भएपछि कर्तव्य ज्यानमा समेत थप गरी कारबाही अगाडी बढाइएको थियो ।
अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईँ काठमाडौँमा पक्राउ परेपछि आन्दोलित बनेका उनका समर्थकहरूले गत असोज ६ गते राति १०ः३० बजे कनकाई नगरपालिका वडा नं.८ स्थित बिरिङ पुलमा भारतको सिलिगुडीबाट प्लाईको फेस पत्ता बोकी नेपालको सिराहातर्फ गइरहेको कुमार महतोले चलाएकोे भारतीय ट्रक र सोही रातिको बिहान २ः३० बजे बिर्तामोड नगरपालिका वडा नं. ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट काँकडभिट्टातर्फ जाँदै गरेको पद रायले चलाएको अर्को भारतीय ट्रकलाई आगजनी गरेका थिए ।