झापा, असोज ६ । झापाको मेचीनगर नगरपालिका कार्यालयले व्यक्तिको स्वास्थ्य जस्तो अति संवेदनशील र कानूनले बर्जीत गरेको विवरण सार्वजनिक गरेको छ । मेचीनगर नगरपालिकाले गम्भिर प्रकृतिका रोग लागेका नगरबासीको नाम सहित सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ । नगरपालिकाले २०८१/०६/४ गतेको मितिको चलानी नम्बर ८८५ नम्बर भएको सबै वडा कार्यालयहरुलाई लेखिएको ‘आवश्यक सहजिकरण गरिदिने बारेमा‘ पत्रसहित नगरका मृगौला प्रत्यारोपण, डायलाईसीस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुको नाम सार्वजनिक गरेर कानूनी व्यवस्थाको गम्भिर उलघंन गरेको छ । सरकारले गम्भिर प्रकृतिका विरामीलाई उपलब्ध गराउने मासिक रकमको लागि विवरण अध्यावधिक गर्न भन्दै वडा कार्यालयलाई पठाएको विवरण नगरपालिकाले आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको हो ।
नगरपालिकाले २०८१/०६/५ गते शनिवार बेलुका ७ः१५ मिनेटमा ‘मेचीनगर नगरपालिका’ नामक नगरपालिकाको आधिकारिक फेसबुक पेज मार्फत २८९ जना विरामीहरुको नाम सर्वाजनिक गरेको हो । नगरपालिकाले सार्वजनिक गरेको विवरणमा कुन व्यक्तिलाई के रोग लागेको छ भन्ने सम्पूर्ण विवरण खुलाईएको छ । ‘हामीलाई विभागले नै सार्वजनिक गर्नु भन्छ,’ नगरस्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले भन्नुभयो, ‘त्यही भएर सार्वजनिक गरेको हो ।’
‘कुनै पनि नागरिकको स्वास्थ्य सम्बन्धी विवरण उसको अनुमति बाहेक दोस्रो व्यक्तिलाई पनि थाहा दिनु हुँदैन,’ वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्यले भन्नुभयो, ‘विरामी सम्बन्धी विवरण सार्वजनिक गर्नु भनेको दण्डनीय अपराध हो ।’ आचार्यका अनुसार अन्तराष्ट्रिय कानूनले पनि व्यक्तिको स्वास्थ्य सम्बन्धी विषय सार्वजनिक गर्न नमिल्ने र गम्भिर प्रकृतिको अपराधका रुपमा हेरिएको छ ।
जस्तो सुकै सुविधा पाउने व्यक्ति भए पनि उसको रोगका बारेमा कसैले सार्वजनिक गर्न नमिल्ने विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डा नारायण भट्टराईले बताउनु भयो । नेपालको संविधानको धारा २८ अन्तरगत गोपनियताको हकको पहिलो नम्बरमै ‘मान्छेको जीउ’ गोप्य हो भनेर भनिएको छ ।
यो समाचार तयार पार्दासम्म नगरपालिकाको उक्त पोष्टमा ३० लाईक एउटा कमेन्ट र ३ वटा शेयर भएको देखिएको छ ।
[नगरपालिकाले सार्वजनिक गरेको विवरण भने व्यक्तिको गोपनियताको हकको सम्मान गर्दै हामीले सार्वजनिक गरेका छैनौं । तर हामीसंग नगरपालिकाले सार्वजनिक गरेको विवरण सुरक्षीत छ ।]