काकरभिट्टा, कार्तिक २ ।
मेचीनगर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सहित नगरका तीन वटा संस्थाका प्रमुखहरुलाइ आज एकै पटक कोरोना संक्रमण पुष्टी भएको छ ।
नगरका प्रमुख प्रसाशकिय अधिकृत दिनानाथ लम्साल, मेची भन्सार कार्यालय काकरभिट्टाका प्रमुख ध्रुवराज बिश्वकर्मा र काकरभिट्टा क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीलाई कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमण पुष्टी भए पछि मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत लम्सालले सेतोपत्रसंग टेलिफोनमा कुराकानी गर्दै आफु सामान्य अवस्थामा रहेको बताउनु भयो । वहाँले भन्नु भयो,‘मेरो पिसिआर रिपोट पोजेटिभ आयो तर मलाई कुनै समस्या छैन, सामान्य अवस्थमा छु र घरमै परिवार भन्दा अलग्गै बसेको छु ।’ लम्सालले आफुसंग पछिल्लो साता भित्र सम्पर्कमा रहनु भएकाहरुलाई परिक्षण गराउन पनि आग्रह गर्नु भएको छ ।
त्यस्तै मेची भन्सार प्रमुख बिश्वकर्माले समेत पिसिआर रिपोट पोजेटिभ आएको भए पनि आफुलाई कुनै स्वास्थ्य समस्या नरहेको बताउनु भयो । वहाँले भन्नु भयो,‘मेरो पिसिआर रिपोट पोजेटिभ आएको खबर पाएँ । मलाई अहिले स्वास्थ्य सम्बन्धी कुनै समस्या छैन । रिपोट पोजेटिभ आएका कारण परिवारभन्दा अलग्गै बस्न थालेको छु ।’
काकरभिट्टा क्याम्पस प्रमुख उप्रेतीले आफु कोरोना संक्रमित भएको फेसबुक मार्फत नै सार्वजनिक गर्नु भएको छ । वहाँले आफ्नो फेसबुकमा आफु सामान्य अवस्थामा रहेको जानकारी गराउनु भएको छ ।
तीन प्रमुख सहित आज मेचीनगरमा थप ७ जना संक्रमित थपिएका छन । आज थपिएकामा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सहित नगरपालिकाका ४ जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टी भएको मेचीनगर नगरपालिकाले जनाएको छ ।
यस अघि मेचीनगरका नगरप्रमुख बिमल आचार्य, मेचीनगर वडा नंं ४ का वडा अध्यक्ष नविन बराललाई समेत कोरोना संक्रमण पुष्टी भएर होम आइसोलेशनमा रहनु भएको छ ।
आज थपिएका ७ जना सहित मेचीनगरमा कोरोना संक्रमति हुनेको संख्या २०३ पुगेको छ । त्यसमध्ये १५६ जना निको भएर घर फर्किएका छन भने ४७ जना सक्रिय संक्रमित रहेका छन ।