झापा,भदौ ३० । नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनको तयारी गरिरहेको धुलाबारी जेसीजले सम्मेलनमा सहभागीहरुलाई मेचीनगरका ऐतिहासिक तथा पर्यटन क्षेत्रको अवलोकन गराउने भएको छ ।
झापाको बाहुनडाँगीदेखि सर्लाहीको मलङ्गासम्मका जेसीजका ४६ वटा शाखाका ६ सय र अन्य अतिथि गरी ७ सयबढी सहभागीलाई मेचीनगरका ऐतिहासिक तथा पर्यटन क्षेत्रको अवलोकन गराइने भएको हो । आगामी असोज ११ र १२ गतेका लागि तय भएको सम्मेलनमा नेपाली युवा बढ्दो रुपमा विदेश पलायनक्रमलाई रोक्न स्वदेशी उधमशीलता सम्भावनाप्रति युवाको जिज्ञासा र विज्ञको सहजीकरण प्रमुख रहने आयोजकले जनाएको छ ।
सम्मेलन आयोजक निर्देशक अनन्त प्रकाश वस्तीले सम्मेलनका लागि सम्मेलन हलको ब्यवस्थापन, यातायातसहित खान र बस्नको ब्यवस्थापनको तयारी गरेको बताउनुभयो । दुईदिने सम्मेलनमा उद्घाटनको दिन थिम सेमिनार, जेनेर्ल एसेम्ली, सिनेटर बैठक, जुनियर जेसीजको बैठक, अन्तर शाखा वक्तृत्वकला र जेसीज नाइट कार्यक्रमको तय गरिएको सचिब लीलाप्रसाद भण्डारीले जानकारी दिनुभयो । त्यसैगरी दोस्रो दिन तालिम, जेनेरेन एसेम्ली, नेपाल जेसीजको अवार्ड वितरण, समापन र विभिन्न १७ वटा उपसमिति निर्माण गरिने छ ।
जेसीज सम्मेलन सम्पन्न गर्न ३२ लाखबढी खर्च हुने आयोजकले जनाएको छ । धुलाबारीको पासाङ ल्हामु जेसीज प्रतिष्ठान टाउन हलमा आयोजना गरिने सम्मेलनलाई सफल बनाउन सबै शाखालाई पत्रचार गरिनुका साथै समाजका हरेक पक्षसँग छलफल संचालन गरेकोसम्मेलनका प्रचार–प्रसार संयोजक देबु बानियाँले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा धुलाबारी जेसीजका अध्यक्ष मञ्जिल रसाइली, निर्देशक वस्ती, तेजप्रसाद चौलागाई, ऋषिराज तिम्सिना, दिनेश शाक्य, राजिव प्रसाई लगायत जेसीजका सिनियर जुनियर जेसीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण पूर्व अध्यक्ष लिलाप्रसाद भण्डारी र बाहुनडाँगी जेसीजका अध्यक्ष एवम् सम्मेलनका प्रचारप्रसार समिति संयोजक देबु बानियाँले संयुक्त रुपमा गर्नुभएको थियो ।