काठमाण्डौ, भदौ १९ । ग्रामीण आवास कम्पनीसँग रहेको झापाको काँकरभिट्टाको जग्गा सम्बन्धित संस्था वा मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरिनु पर्ने विषयमा बिशेष पहल शुरु भएको छ । नेपाली काँग्रेसका महामन्त्री एवं झापा क्षेत्र नम्वर एकका साँसद विश्वप्रकास शर्माको पहलमा मंगलवार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकासमान सिंहको कार्यकक्षमा बिशेष छलफल भएको छ ।
जग्गा हस्तान्तरण प्रक्रियामा रहेका कठिनाइहरुको विधिपूर्वक हल खोज्ने बिषयमा बैठकमा सहमति भएको छ । बैठकमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह,झापा १ सांसद तथा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व शहरी विकास मन्त्री सीता गुरुङ, मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगरका पूर्व नगरप्रमुख विमल आचार्य, ग्रामिण आवास कम्पनीका अध्यक्ष संजिवकुमार मिश्र, महानिर्देशक रामकृष्ण निरौला लगायत सहभागी हुनुहुन्थ्यो ।
ग्रामीण आवास कम्पनीसँग रहेको काँकरभिट्टाको जग्गा सम्बन्धित संस्था वा मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरिनु पर्ने माग बसौंदेखि हुँदै आएको छ । २०७९ को प्रतिनिधि सभाको निर्वाचन पश्चात यस विषयमा बिशेष पहल भइरहेकोे छ । सांसद शर्माकै निमन्त्रणामा तत्कालीन शहरी विकास मन्त्री सीता गुरुङलाई काँकरभिट्टामा नै उपस्थीत गराएर स्थलगत भ्रमण र छलफल गत बर्ष नै गराइसकिएको छ ।
काँकरभिट्टा क्याम्पस, काँकरभिट्टा मावि, खेल मैदान, काँकरभिट्टा खानेपानी, सामुदायिक भवन, विपी–पुष्पलाल वाटिका, देवकोटा पार्क, मिनी मार्केट, बस टर्मिनल लगायतका जग्गाहरु अहिले पनि सम्बन्धीत संस्थाको स्वामित्वमा नभएर ग्रामीण आवास कम्पनी अन्तर्गत नै रहेकाले विकास निर्माण देखि त्यसको संरक्षणमा समेत कानूनी जटिलता रहेको छ ।
नेपालको पुर्वी नाकाको सहरका अधिकाशं मुख्य क्षेत्रका जमिनहरु नै ग्रामीण आवास कम्पनीको स्वामित्वमा भएका कारण ती क्षेत्रहरुमा तीनै तहका सरकारहरुले विकास निर्माणका काम गर्न समस्या उत्पन्न भएकाले ती जग्गाहरु सम्बन्धीत संस्था वा नगरपालिकाको स्वामित्वमा रहनु पर्ने मार्ग लामो समयदेखि उठिरहेको छ ।