झापा, भदौ १९ । नेपाली कांग्रेस झापाले आधुनिक नेपालका परिकल्पनाकार, नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्मजयन्ती समारोह गाउँ नगरस्तरमा मनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेको अध्यक्षतामा हिजो जिल्ला पार्टी कार्यालयमा सम्पन्न बैठकले भदौ २४ गतेका दिन झापाका १५ वटै गाउँ÷नगर समितिको आयोजनामा रचनात्मक कार्यक्रमका साथ १११ औं विपी जयन्ती मनाउने निर्णय गरेको हो ।
उक्त अवसरमा वीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादी दर्शनमाथि चर्चा–परिचर्चा, रक्तदान, बृक्षरोपण, प्रजातान्त्रिक अगुवाहरुको सम्मान, बक्तृत्वकला, हाजिरीजवाफ, विचार गोष्ठी, सरसफाई लगायतका विविध रचनात्मक गतिविधि गर्न गराउन पनि बैठकले आग्रह गरेको छ । सोही दिन भद्रपुरस्थित विपी कोइरालाको शालिकमा विहान ८ बजे माल्यापर्ण एवं विचार गोष्ठी कार्यक्रम पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा आयोजना गरिने भएको छ ।
बैठकले नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा जेल, नेल, यातना भोगेका, सर्वश्वहरणमा परेका, प्रवास बस्न बाध्य पारिएका शहीद परिवार, प्रजातन्त्र सेनानी र तिनका परिवारलाई संगठित गर्ने उद्देश्यले भाद्र २५ गते जिल्ला पार्टी कार्यालयमा प्रजातन्त्र सेनानी संघको पाँचौं जिल्ला अधिवेशन भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसैगरी नेपाली महिलाहरुको मुख्य चाड हरितालिका तीजलाई मितब्ययी तरिकाले मनाउन सबैमा अपिल गर्दै पार्टीको तर्फबाट शुभकामना ब्यक्त गर्ने निर्णय बैठकले गरेको काँग्रेस झापाले जनाएको छ ।