झापा, भदौ १६ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरवहादुर देउवालाई अब प्रधानमन्त्री नबन्न सुझाव दिनु भएको छ । काँग्रेस केन्द्रीय समितिको जारी बैठकमा आफुले महासमिति बैठकमा प्रस्तुत गरेको प्रस्तावका बिषयमा बोल्दै आज महामन्त्री शर्माले सभापति देउवालाई अब प्रधानमन्त्री नबन्न र त्याग गर्न महामन्त्री शर्माले प्रस्ताव गर्नु भएको छ । ‘नीति, कर्म, त्याग र राजनेता सभापति देउवाले अरु सबै गरिसक्नु भयो,’ बैठकमा बोल्दै शर्माले भन्नुभयो, ‘अब गर्न बाँकी केवल त्याग छ । २०८३ असारमा पुगेर त्यो त्याग गर्नुपर्छ ।’
एमाले पार्टीसँगको ७ बुँदे समझदारी बमोजिम २०८३ असारसम्म एमाले अध्यक्ष केपी ओलिको नेतृत्वको सरकारलाई र उहाँको नेतृत्वलाई सफल बनाउन काँग्रेसले सम्पुर्ण ध्यान लगाउनुपर्छ र एकताबद्ध रुपले साथ दिनुपर्ने भन्दै तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नु नहुने शर्माले बताउनु भयो ।
‘आफ्नै पुस्ताको कोहि आदरणीय नेतालाई प्रधानमन्त्री बनाउन उहाँले नै प्रस्ताव गर्नुपर्छ,’ शर्माले भन्नुभयो, डा शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह , पुर्णबहादुर खड्का, डा शशांक कोइराला, अर्जुननरसिंह केसी प्रधानमन्त्री बन्न एकसे एक अग्रज नेताहरु प्रतिनिधिसभामा हुनुहुन्छ, जो अनुभवी र दक्ष पनि हुनुन्छ,उहाँहरु मध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनाउन सभापतिले अग्रसरता देखाउनु पर्छ ।
त्यसबाट एक साथ तीन वटा फाइदा पुग्ने महामन्त्री शर्माले बताउनु भयो । ‘एक, सभापतिको त्याग देखिन्छ, दुई, उहाँको समकालीन कोहि नेतालाई न्याय र कदर हुन्छ र तीन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं,’ केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री शर्माले भन्नुभयो ।