काकरभिट्टा, भदौ १४ । मनबहादुर बानियाँ क्षेत्री स्मृति प्रथम मेचीनगर स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा धुलाबारी माविकी दिव्या राय प्रथम हुनु भएको छ । त्यस्तै हिमालयन मावि धुलाबारीकी छात्रा विद्या बुढाथोकी दोस्रो र आदर्श मावि इटाभट्टाका विकास गौतम तेस्रो हुनु भएको छ । प्रतियोगितामा शहिद दशरथचन्द मावि चारआलीकी छात्रा विअसा वराल चौथो हुनु भएको छ ।
बाहुनडाँगी जेसीजको आयोजनामा ‘नवप्रभावका लागि अग्रसरता’ भन्ने बिषयमा सम्पन्न वक्तृत्वकला प्रतियोगिताका प्रथमले नगद ७ हजार, मेडल र प्रमाण पत्र, दोस्रोले नगद ५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । त्यस्तै प्रतियोगितामा तेस्रो हुनेले नगद ३ हजार, मेडल र प्रमाण पत्र तथा चौथो हुनेले नगद एक हजार, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।
बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँको सभापतित्व तथा मेचीनगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्राध्यापक हेम खड्का, धुलाबारी जेसीजका पुर्व अध्यक्ष केशब पोखरेल र प्राध्यापक शेरबहादुर बानियाँ निर्णायक रहनु भएको थियो । निर्णायक केशब पोखरेलले प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्न सफल सहभागिहरुको नाम घोषणा गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भण्डारी, धुलाबारी जेसीजका पुर्व अध्यक्ष केशव पौडेल, सामाजिक अगुवा हरिचरण बानियाँ, युवा राजनितिकर्मी उद्धव बानियाँ र मेची उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सन्तोस खवासले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
काकरभिट्टा खानेपानी उपभोक्ता संस्थाको सभाहलमा सम्पन्न प्रतियोगितामा स्वागत मन्तव्य कार्यक्रमकी संयोजक तथा बाहुनडाँगी जेसीजकी कार्यकारीणी उपाध्यक्ष सुस्मा मिश्रले गर्नु भएको थियो भने जेसीजका कोषाध्यक्ष नित्यानन्दा चौलागाईले जेसीज आस्था पाठ गर्नु भएको थियो । मेचीनगर ८ वटा माविको सहभागिता रहेको प्रतियोगितामा सहभागि सबैलाई सहभागिताको प्रमाण पत्र समेत प्रदान गरिएको थियो । बाहुनडाँगी जेसीजका महासचिव कौशल उप्रेती र प्रचार संयोजक जि आर धितालको संयुक्त सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबिच बाहुनडाँगी जेसीजकै आयोजनामा आजै दोस्रो कार्यक्रमका रुपमा निःशुल्क आँखा शिविर समेत सम्पन्न भएको छ । मेचीनगर ३ स्थीत जनता माविमा सञ्चालन भएको आँखा शिविरमा ३५० भन्दा बढी स्थानीयले आँखाको परीक्षण गराएको कार्यक्रमका संयोजक दिवस पौडेलले जानकारी दिनुभयो ।