धुलाबारी, भदौ १२ । विद्युत वितरणको अस्तव्यस्ततालाई हटाएर जोखिम कम गर्न माग गर्दै मेचीनगर नगरपालिका वडा नं. २ का तर्फबाट नेपाल बिद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ । मेचीनगर २ का वडा अध्यक्ष दिपक बराल नेतृत्वको वडाका टोलविकास संस्थाका अध्यक्षहरु सहित अगुवा वडाबासीहरुको समूहले विद्युत प्राधिकरणको धुलाबारी वितरण केन्द्रमा पुगेर कार्यालय प्रमुख माधव प्रसाद यादवलाई पत्र मार्फत ध्यानाकर्षण गराएको हो ।
‘पुराना पोलहरु मर्मत गर्नु पर्ने, फेर्नु पर्ने अवस्था छ,’ ध्यानाकर्षण पत्र बुझाउँदै वडा अध्यक्ष बरालले भन्नुभयो, ‘जुनसकै बेला दुर्घटना हुने खतरा छ । त्यसैले तत्कालै विद्युत प्राधिकरणको प्राविधिकले अनुगमन गरेर समस्या समाधान गर्दिनु पर्छ ।’ बिसौ बर्ष पुराना विद्युतका पोलहरु अहिले होचा भएर तार लत्रिएका कारण यातायात सञ्चालनमा नै समस्या भएका कारण स्थानीयहरु समस्यामा परेकाले विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको वडा अध्यक्ष बरालले बताउनु भयो ।
‘केही ठाउँमा त एम्बुलेन्स समेत पनि जान नसक्ने गरी विद्युतका तार तल झरेको छ,’ अध्यक्ष वरालले भन्नुभयो, ‘वडाबासीहरु वडा कार्यालय आउनुहुन्छ, हामीले पनि भन्ने विद्युत प्राधिकरणलाई नै हो ।’ लामो समय पनि समस्या समाधान नहुदा वडा अध्यक्षले नै पहल नगरेको जस्तो महशुस भएकाले टोल विकास संस्थाका अध्यक्षहरु सहित विद्युत प्राधिकरणमा ध्यानाकर्षण गरेको अध्यक्ष बरालले बताउनु भयो ।
ध्यानाकर्षण पत्र बुझ्दै विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका प्रमुख माधव प्रसाद यादवले जोखिम भएका क्षेत्रको काम तत्काल नै गर्न लगाएर समस्या समधान गर्ने प्रतिबद्धता जनाउनु भयो । ‘जहाँ बढी समस्या छ त्यो ठाउँमा भोलि नै प्राविधिकलाई पठाएर स्टेमेट गर्न लगाएर काम गराउँछु,’ कार्यालय प्रमुख यादवले भन्नुभयो, ‘पोल सार्ने र नयाँ विद्युत वितरणको कामका लागि भने केन्द्रबाट प्रक्रिया पुर्याउनु पर्ने भएकाले त्यसका लागि समेत प्रक्रिया शुरु गर्नेछु ।’
मेचीनगर २ का ३१ वटा टोलविकास संस्था मध्ये अधिकाश टोलका अध्यक्ष समेतलाई लिएर वडा अध्यक्ष बराल आज धुलाबारी वितरण केन्द्रको कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।