बिर्तामोड, भदौ ११ । प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम शुरु भएको छ । सोमबारदेखि बिर्तामोडमा शुरु भएको तालिममा झापाका विभिन्न पालिकामा गठन गरिएका माकुरा समूहका सदस्यहरुको सहभागिता रहेको प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोत व्यक्ति संगिता थापाले जानकारी दिनुभयो । आठ दिनसम्म सञ्चालन हुने तालिममा सहभागिहरुमा तालिमबाट देवानी प्रकृतिका विवादहरुलाई सहजीकरण गरी संवादको माध्यमबाट जीत जीतको अवस्थामा पुर्याउने गरी विवाद समाधान गर्ने सीपको विकास हुने बताइएको छ ।
तालिम उदघाटन सत्रका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व वरालले तालिम निक्कै फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । वास्तवमा सरकारले गर्नुपर्ने यस्तो काम आज प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले गरेर धन्यवादको पात्र बनेको उहाँले बताउनुभयो । ‘यो तालिममात्र होइन यसले भोलीका लागि न्यायमूर्ति समेत उत्पादन गर्छ’ प्रमुख वरालले भन्नुभयो, ‘तालिममा सहभागी तपाईहरुको गुणस्तरले पनि यस कुरामा म निक्कै ढुक्क छु ।’
उदघाटन सत्रमा विर्तामोड नगरपलिकाका प्रमुख पवित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीलगायतले तालिममा सक्रिय सहभागि भएर मेलमिलापको माध्यमबाट स्थानीयस्तरका समस्या समाधान गर्न सक्ने भएर निस्कन सबै सहभागिहरुलाई शुभकामना दिनु भएको थियो ।
प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका राष्ट्रिय श्रोत व्यक्ति संगीता थापाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको तालिमको सहजिकरण झापा जिल्ला अदालत र र प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको विज्ञ समूहले गर्नेछ ।
तालिममा विवाद द्वन्दको अवधारणा र विस्तार, विवाद समाधानका उपाहरु आधारभूत बैकल्पिक, विवाद समाधानमा मेलमिलाप पद्घतिको प्रयोग, अन्तर्राष्ट्रिय सन्दर्भमा मेलमिलाप पद्घतिको प्रयोग, मेलमिलाप सम्बन्धी नेपालमा प्रचलित कानुनी व्यवस्थालगायतका विषयमा सहजिकरण गरिने बताइएको छ ।
झापाका बाह्रदशी गाउँपालिका, अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिका र मेचीनगर नगरपालिकाका माकुरा समूहका २९ जनाको सहभागिता रहेको तालिकको उदघटन सत्रको अध्यक्षता प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका राष्ट्रिय स्रोत व्यक्ति थापाले गर्नु भएको थियो । तालिम भदौ १७ गतेसम्म सञ्चालन हुनेछ ।