काकरभिट्टा, भदौ २ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसका कार्यकर्ताहरुले समयलाई महत्वका साथ पालना गर्नु पर्ने र सबैप्रति सहयोगी बन्नु पर्ने बताउनु भएको छ । नेपाल महिला संघ झापा क्षेत्र नं १ ले आज काकरभिट्टामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री शर्माले समयलाई ध्यान नदिएर धेरै कुरा बिग्रिएको प्रति सचेत गराउनु भएको थियो । ‘तोकीएकै समयमा कार्यक्रम शुरु गर्नुहोस, जे कार्यक्रम हो त्यसैमा केन्द्रीत हुनुहोस,’ शर्माले भन्नुभयो, ‘रक्तदान कार्यक्रम राखेर भाषण गर्नु गराउनुको कुनै अर्थ छैन ।’
झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य समेत रहनु भएका शर्माले काँग्रेसका कार्यकर्ताले सबै प्रति सहयोगी भावना राख्न पर्ने बताउनु भयो । ‘छिमेकीहरु प्रति माया र सदभाव राख्नुहोस,’ शर्माले भन्नुभयो, ‘छिमेकीहरुका लागि दिउँसो मात्रै होईन मध्यरातमा पनि तपाई काम लाग्नु पर्छ, सकेको सहयोग गर्नु पर्छ ।’
नेपाली समाजमा आक्रोस बढेको भन्दै त्यसले मानविय संवेदना नै कमजोर भएकाले संयमित हुन आग्रह गर्नु भयो । महामन्त्री शर्माले पार्टीले गरेका राम्रा कामको प्रचारमा समेत लाग्न कार्यकर्ताहरुलाई आव्हान गर्नु भयो । ‘बिपि, कृष्ण प्रसाद भट्टराई र मंगलादेवीहरुको जीवनी सुनेर मात्रै हुँदैन,’ शर्माले भन्नुभयो, ‘वहाँहरुको जीवनबाट प्राप्त प्रेरणालाई आफ्नो दैनिकीमा रुपान्तरण गर्दा मात्रै काँग्रेस कार्यकर्ता हुनुको अर्थ रहन्छ ।’
महिलाहरुको क्षमता अभिबृद्धि र सशक्तीकरणका लागि आयोजना गरिएको अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा काकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न प्रशिक्षणमा महिलाहरुको नेतृत्व विकासका विषयमा बद्री कार्की, संविधान एवं कानुनमा महिलाका अधिकारका विषयमा अधिवक्ता बसन्त नेपाल र नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास र नेपाल महिला संघका विषयमा विकास उप्रेतीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेले लोकतन्त्रपछि केही भएन भन्ने भनाई सत्य नभएको बताउँदै पञ्चायतदेखि अहिलेसम्मको फरक अवस्था आफ्नै गाउँ–ठाउँमा नियाल्दा भेटिने बताउनुभयो ।
कार्यक्रममा नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, कोशी प्रदेश सांसद गोपाल तामाङ, नेपाल महिला संघ झापा अध्यक्ष टिका सिटौला मैनालीलगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस प्रदेश समिति सदस्य विमल आचार्य, शोभा श्रेष्ठ नेम्वाङ, काँग्रेस झापाका सचिव कृष्ण हुमागाई लगायतको सहभागिता रहेको थियो । नेपाल महिला संघ १ नम्बर क्षेत्रीय सभापति रचना घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत ज्ञानु थापा र सञ्चालन सिता पुरीले गर्नु भएको थियो ।