मेचीनगर,भदौ २ । झापाको मेचीनगर १० मा रहेको धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर आधारभूत अस्पतालको रूपमा स्तरबृद्धि गरिएको छ । मेचीनगर नगरपालिकाले थप सेवा सुविधा सहित स्तरवृद्धि गरी धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर आधारभूत अस्पतालको रूपमा सञ्चालनमा ल्याएको हो । मेचीनगर १० स्थित धुलाबारी मोडमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई ४ जना एमबिबिएस डाक्टरसहित नगर आधारभूत अस्पतालको रूपमा सञ्चालनमा ल्याइएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।
यसअघि एक जना मेडिकल अधिकृत (एमबिबिएस) सहित प्रसूति सेवा, भिडियो एक्सरेलगायतका स्वास्थ्य सेवा प्रदान भइरहेकामा अब ४ जना एमबिबिएस डाक्टर सहित इमर्जेन्सी सेवा, चौबीसै घण्टा प्रसूति सेवा, भिडियो एकसरे सेवा, इसीजी सेवासँगै आफ्नै फार्मेसी सेवा समेत उपलब्ध हुने मेचीनगर स्वास्थ शाखा प्रमुख सविता सापकोटाले जानकारी दिनुभयो ।
मेचीनगर नगरपालिकाले नगरको पन्ध्र वटै वडामा यस अघि नै प्राथमिक स्वास्थ्य सेवा केन्द्र मार्फतस्वास्थ्य सेवा पुर्याइरहेको छ । नगर अस्पताल सञ्चालनमा आएपछि यस बाट नगरका सबै नागरिकले सहज रुपमा स्वास्थ सेवा लिन सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीको भनाई छ । नगरपालिकाले अस्पतालमा थप सेवा सुविधा विस्तार गर्दै लैजाने लक्ष्य लिएको पनि उहाँले बताउनुभएको छ ।
आजवाट विधिवत रुपमा सुरु भएको नगर आधारभुत अस्पतालको उद्घाटनमा नगर प्रमुख बुढाथोकी,उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अधिकारी, कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक हृदय राजवंशी, बरिष्ट प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, मेचीनगर १० का वडाध्यक्ष नारायण खनाल, कार्यपालिका सदस्य रिता परियारलगायतको उपस्थित रहेको थियो ।