नेपाली स्पिन बलर सन्दीप लामिछाने आवद्ध रहेको दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा फेरि शीर्ष स्थानमा उक्लिएको छ ।
सारजहाँमा शनिबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली फेरि शीर्ष स्थानाम उक्लिएको हो ।
प्रतियोगितामा अहिलेसम्म उत्क्रृष्ट खेल प्रस्तुत गरिरहेको दिल्लीले महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किङ्सले दिएको १ सय ८० रनको विजयी लक्ष्य दिल्लीले १९।५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीलाई जिताउन शिखर धवनले नटआउट रहँदै १०१ रन बनाए । उनले ५८ बलमा जम्मा १ वटा मात्र छक्का हानेका थिए । त्यसमा १४ चौका सामेल थियो । यस्तै मार्कुस स्टोनिसले २४, कप्तान श्रेयस एय्यरले २३ तथा अक्षर पटेलले अन्तिम ओभरको ५ बलमा २१ रन बनाएर खेल जिताए ।
अन्तिम ओभरमा दिल्लीलाई १७ रन चाहिएकामा पटेलले तीन छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । चेन्नईका दिपक चाहरले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेटको नोक्सानीमा १ सय ७९ रन बनाएको थियो । फाप डु प्लेसिसले ५८, अम्बाती रायडुले नटआउट ४५ तथा सेन वाट्सनले ३६ रन बनाए ।
दिल्लीका एनरिच नोर्टजेले २ विकेट लिए । तुषार देशपाण्डे र कागिसो रबाडाले १–१ विकेट लिए । रबाडाले आईपीएलमा ५० औं विकेट पूरा गरेका छन् । उनले आईपीएलमा सर्वाधिक कम खेलमा ५० विकेट पुरा गर्ने खेलाडीको कीर्तिमान समेत बनाए । राबडाले २७ खेलमा ५० विकेट पूरा गरेका हुन् ।
यो खेलमा पनि नेपाली खेलाडी सन्दीप लामिछाने खेल्न पाएनन् । प्रतियोगिताको ९ औं खेल सकिए पनि दिल्लीको यो टिमले उत्कृष्ट प्रदर्शन गरिरहेका अवस्थामा बेन्चमै रहेका सन्दीपले अहिलेसम्म खेल्न नपाएका हुन् ।
शनिबारको अर्को खेल
शनिबारको अर्को खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भयो । बैंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले हरायो ।
१७८ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको बैंगलोरले १९।४ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा गर्यो ।
म्यान अफ द म्याच एबी डे भिलियर्सले २२ बलमा नटआउट ५५ रन बनाए । कप्तान विराट कोहलीले ४३ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले ६ विकेटको नोक्सानीमा १७७ रन बनाएको थियो । स्टेभेन स्टिभले ५७ रन बनाएका थिए । क्रिस मोरिसले ४ विकेट लिएका थिए ।
अंक तालिका
जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेर शीर्ष स्थानमा रहन सफल भएको छ । दिल्लीले अहिलेसम्मकै संस्करणमा सबैभन्दा उत्कृष्ट खेलेको हो ।
प्लेअफ नजिक पुगेको दिल्लीलाई डिफेन्डिङ च्याम्पियन मुम्बईले पछ्याइरहेको छ । मुम्बईको ८ खेलमा १२ अंक छ ।
तेस्रो स्थानको बैंगलोरको ९ खेलमा १२ अंक छ ।
चौथो कोलकाता नाइट राइडर्सको ८ तथा सनराइजर्स हैदराबाद, चेन्नई र राजस्थानको समान ६ अंक छ । पुछारको किंगस इलाभेन पन्जाबको ४ अंक छ ।
आइतबारको खेल
आइतबार दुई खेल हुनेछन् । दिउँसो ३ः४५ बजे हैदराबाद र कोलकाता खेल्नेछन् ।
दोस्रो खेलमा बेलुकी ७ः४५ बजे मुम्बई र पन्जाब भिड्ने छन् । मुम्बईलाई फेरि शीर्ष स्थानमा पुग्ने राम्रो अवसर रहेको छ ।