मेचीनगर, भदौ १ । झापाको मेचीनगर २ स्थीत भानु माविका विद्यार्थी स्लोक कार्कीले वडा अध्यक्ष दिपक बराललाई सोधे ‘वडा अध्यक्ष ज्यू हाम्रो विद्यालयको पानी चुहिने छाना कहिले बन्छ ?’ त्यस्तै अर्की विद्यार्थीको प्रश्न थियो, ‘वडा अध्यक्ष ज्यू हामीले स्मार्ट बोर्डमा पढ्न पाउने कहिले हो ?’ अर्का विद्यार्थीले वडा अध्यक्षलाई सोधे, ‘हाम्रो विद्यालयमा विज्ञान ल्याब छ तर त्यसमा विभिन्न सामग्री नभएर हामीले राम्ररी ल्याबको प्रयोग गर्न पाएका छैनौं त्यो कहिले आउँछ ?’
बाहुनडाँगी जेसीजद्वारा भानु माविमा शुक्रबार आयोजित ‘वडा अध्यक्षसंग विद्यार्थीका कुरा’ नामक कार्यक्रममा विद्यार्थीका धारिला प्रश्नको घेरामा हुनुहुन्थ्यो वडा अध्यक्ष दिपक बराल । कार्यक्रममा सहभागि मेचीनगर २ का विभिन्न विद्यालयका विद्यार्थीहरुले शैक्षिक सामग्री, खेलकुदका सामग्री अभाव, खानेपानीको समस्यादेखि लिएर वडा भित्रका अन्य समस्याका बारेमा समेत वडा अध्यक्षलाई खुलेर प्रश्न गरेका थिए ।
विद्यार्थीहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै वडा अध्यक्ष बरालले वडाको तहबाट गर्न सकिने कुरा तत्काल पुरा गर्ने र अन्य बिषय नगरपालिकाको बोर्ड बैठकमा राखेर छलफल गरी समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाउनु भएको थियो । ‘विद्यालयको खेलकुदका सामग्री वडा कार्यालयले खरिद गरिसकेको र केही दिनमा नै विद्यालयलाई उपलब्ध गराउँछौं,’ विद्यार्थीको प्रश्नको उत्तर दिदैं वडा अध्यक्ष बरालले भन्नुभयो, ‘केही बिषयहरु वडा कार्यालयबाट गर्न नसक्ने भएकाले नगरपालिकाको बोर्ड बैठकबाट समास्या समाधानका लागि पहल गर्छु ।’
सबै काम वडा अध्यक्षले नै गर्नु पर्छ र गर्न सक्छ भन्ने पनि लागेको हुन्छ तर वास्तवमा वडा कार्यालयमा भएको बजेटले धेरै काम गर्न नसकिने वडा अध्यक्ष बरालले बताउनु भयो । ‘मैले निर्वाचनका बेला सर्वजनिक गरेको ४७ बुँदाको प्रतिबद्धताका काम पुरा गरिसकेको छु,’ कार्यक्रममा बोल्दै वडा अध्यक्ष बरालले भन्नुभयो, ‘अब थप काम गर्ने गरी योजना बनाएको छु ।’ आफुले वडाबासीको कामलाई प्राथमिकतामा राखेको तर स्टन्ड नगरेको वडा अध्यक्ष बरालले बताउनु भयो ।
कार्यक्रमको अन्तिम समयमा पुग्नु भएका मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले विद्यालयको छाना चुहिने समस्याको समाधानका लागि काम शुरु गरेको र केही समयमा सबै विद्यालयका चुहिने छाना फेरिने बताउनु भयो । वहाँले नगरको बजेट अभावका कारण आम जनताले उठाएका धेरै काम गर्न नसकेको बताउनु भयो ।
बाहुँनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा भानु माविका प्रधानाध्यापक खड्गकुमारी तिम्सिना, प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, रेडियो मन्त्रका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौला लगायतले विद्यार्थी र वडा अध्यक्ष विचको प्रश्नोत्तर कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताएका थिए । पत्रकार प्रकाश पौडेल, भानु माविका सहायक प्रधानाध्याक ज्ञानेन्द्र ढुँगानासहितका शिक्षक, सनसाईन अग्रेजी मावि, पुर्वाञ्चल अँग्रेजी माविका विद्यार्थी र शिक्षकहरुसमेतको सहभागिता रहेको कार्यक्रम बाहुनडाँगी जेसीजका महासचिव कौशल उप्रेतीको सञ्चालनमा सम्पन्न भएको थियो ।