मेचीनगर, साउन ३२ । बैदेशिक रोजगारीका लागि ६ वर्षअघि ओमन पुग्नु भएकी झापा मेचीनगरकी बिनादेवी कवँरलाई नेपाल ल्याउन वहाँका छोराले आर्थिक सहयोगको अपिल गर्नु भएको छ । परिवारको आर्थिक अवस्था कमजोर रहेकाले अचेत अवस्थामा रहेकी आमालाई नेपालसम्म ल्याउन आर्थिक सहयोग गरिदिन बिनादेवीका छोरा सञ्जय कवँरले अपिल गर्नु भएको हो । बिहीबार प्रेस क्लब मेचीनगरको हलमा पत्रकारहरुसमक्ष कुरा गर्दै सञ्जय कवँरले आर्थिक र समन्वयात्मक सहयोग गरेर नेपालसम्म ल्याइदिन आग्रह गर्नु भएको छ ।
झापाको मेचीनगर १० स्थित कवँर वस्तीकी बासिन्दा ४५ वर्षीया बिनादेवी परिवारको आर्थिक अवस्था सुधार्न बिस २०७५ सालमा वैदेशिक रोजगारीका लागि अबैधानिक बाटो हुँदै ओमन पुग्नु भएको हो । बिनादेबीको दुई छोरा र एक छोरीको भविष्य बनाउने सपना प्यारालाइसिस भएपछि असफलमात्रै भएन, डेढबर्षदेखि शरीरको अंग नचल्ने बिरामी भएपछि त्यहाँको सलाला भन्ने ठाउँको सरकारी अस्पताल सुल्तान काबुस अस्पतालको आइसोलेशनमा हुनुहुन्छ ।
आमालाई घर ल्याउन करिव १४ लाखबढी खर्च लाग्ने भएपछि सन्जयले आर्थिक सहयोग जुटाइदिन आग्रह गर्नु भएको हो । ‘दैनिक मजदुर गरेर गुजारा चलाउदै आएका छौं । आर्थिक अवस्था कमजोर छ । यत्रो पैसा कहाँबाट ल्याउनु,’ सन्जयले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘जस्तोसुकै अवस्था भएपनी मेरी जन्मदिने आमाको हेरचाह आफै र आफ्नै देशमा गर्छु । त्यसैले आमालाई विदेशबाट ल्याउन सबैसँग अनुरोध गरेको हुँ ।’
प्यारालाईसिसका कारण अर्धचेत अवस्थामा रहेका कारण विनादेविलाई सामान्य अवस्थामा नेपाल फर्काउन नसकिने ओमनका नेपाली दुतावासका श्रम सहचारी गोविन्दप्रसाद आचार्यले भिडियो कल मार्फत मेचीनगरका पत्रकारहरुलाई जानकारी गराउनु भयो । ‘वहाँको अवस्था अत्यन्तै जटिल छ,’ श्रमसहचारी आचार्यले भन्नुभयो, ‘प्लेनको ९ वटा सिट खोलेर स्टेचरमा राखेर ल्याउनु पर्छ, त्यसले गर्दा प्लेनको भाडा नै करीब १३ लाख रुपैया लाग्ने देखिन्छ ।’ ओमनबाट नेपाल आउने सिधा हवाईजहाज नभएकाले ट्रान्जीट गरेर ल्याउनु पर्ने भएकाले दुई वटा जहाजमा नै सिट खोलेर स्ट्रेचरमा राखेर ल्याउँदा हवाई जहाजको खर्च धेरै पर्ने आचार्यले बताउनु भयो ।
विनाका श्रीमान चिनीलाल कवँर धुलाबारीमा नै सामान्य ज्यालादारीमा काम गर्नु हुन्छ । जेठा छोरा सञ्जय मेचीनगर–७ स्थित राज टिस्टेटमा मेशिन अपरेटरको काम गर्नु हुन्छ । कान्छो छोरा सुरज काठमाडौँमा मूर्ति बनाउने काम गर्नु हुन्छ भने छोरी अनिता कवरको विवाह भइसकेको छ । २०७५ सालको भदौमा स्थानीय चिनेको मेचीनगर ६ का गोरे उपनामले चिनिने ब्यक्तीसँगको सहकार्यमा विनादेवि भारतिय बाटो हुँदै ओमन पुग्नु भएको वहाँ छोरा सञ्जयले बताउनु भयो ।