झापा,साउन ३१ । मेचीनगर नगरपालिका ६ मा रहेको स्वास्थ चौकी काँकरभिट्टाले एक बर्षको अवधीमा ४३ हजार ११ जना सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । स्वास्थ केन्द्रले आज आयोजना गरेको आर्थिक बर्ष २०८० /८१ को स्वास्थ कार्यक्रमहरुको बार्षिक समिक्षा कार्यक्रममा बर्षभरि भएका प्रगती विवरण सार्वजनिक गरिएको हो ।
स्वास्थ चौकी व्यवस्थापन समितीका अध्यक्ष तथा मेचीनगर वडा नम्बर ६ का वडाध्यक्ष ललित बाहादुर तामाङको अध्यक्षतामा आयोजीत बार्षिक समिक्षा कार्यक्रममा बर्ष भरि भएका प्रगती,स्वास्थ केन्द्रमा रहेका चुनौती तथा समस्या,व्यवस्थापनका लागि रहेका आवश्यकताका बारेमा चर्चा गरिएको छ ।
सो क्रममा स्वास्थ चौकी प्रमुख लेखनाथ खतिवडाले,स्वास्थ केन्द्रबाट अहिले नियमित खोप,ओपिडी,सुरक्षित मातृत्व,पोषण कार्यक्रम,क्षयरोगीका लागि दैनिक अण्डा खुवाउने लगायतका कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो । भौतिक संरचनाको अवस्था सुधार गर्नुपर्ने,फोहोर व्यवस्थापनमा समस्या,आधुनिक उपकरणहरुको आवश्यकता संस्थालाई रहेको जानकारी गराउदै उहाँले वडा कार्यलय तथा मेचीनगर नगरपालिकाबाट त्यसतर्फ पहल हुने अपेक्षा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका स्वास्थ शाखा प्रमुख सविता सापकोटा, काँकरभिट्टा माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद न्यौपाने लगायतले काँकरभिट्टा स्वास्थ केन्द्रले स्वास्थ सेवामा निभाएको भुमिकाको प्रशंसा गर्दै आवश्यक साथ र सहयोगका सदैव तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोही अवसर पारेर स्वास्थ केन्द्रले दाता तथा कर्मचारीहरुलाई सम्मान समेत गरेको छ । दाताहरु राजकुमार पराजुली ,नरेन्द्र प्रकाश सिटौला,ओम डेन्टल क्लिनिक,तेजस्वी क्लिनिक,मखमली महिला सहकारी संस्था,तथा स्वर्गिय बुद्धि नाथ पौडेलको परिवारलाई खादा पहिर्याएर सम्मान व्यक्त गरिएको हो । त्यस्तै कार्यलय सहयोगी सुनिता भुजेल,सिनियर अहेब विष्णु घिमिरे तथा सिनियर अनमी विद्या शिवाकोटीलाई पनि खादा पहिर्याएर सम्मान गरिएका छ । दाताहरुको तर्फबाट नरेन्द्र प्रकाश सिटौलाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सिनियर अनमी सविता प्रधानले स्वागत गर्नुभएको कार्यक्रममा स्वास्थकेन्द्र व्यवस्थापन समिती उपाध्यक्ष तथा वडा नम्बर ६ कि वडा सदस्य अन्जु थापाले दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम सिनियर अहेब विष्णु घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।