काँकडभिट्टाका ,साउन २२ । बंगलादेशमा चर्किएको आन्दोलनका कारण नेपालको आयात र निर्यात व्यापार प्रभावित भएको छ । दुई देशबीचको आयात–निर्यातका सामान बोकेका गाडीहरू नाकामा अलपत्र परेका छन् ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकडभिट्टाका प्रमुख सुवास पाण्डेका अनुसार बंगलादेशबाट भन्सार छुटेका ५ वटा गाडी र नेपालबाट छुटेका ११ वटा गाडी बाटोमै रोकिएको छ ।
नेपालबाट ११ वटा ट्यांकरमा लोड भएको उखुको खुदो (मोलासिस) निर्यात हुन रोकिएको छ । नेपालबाट बंगलादेशमा धेरै निर्यात हुनेमध्येमा पर्ने मोलासिस हप्तामा २–३ लट १०–११ वटा ट्यांकर जाने गरेकोमा यो पटक रोकिएको उहाँको भनाई छ । त्यस्तै बंगलादेशबाट आएका ५ वटा टिस्यु पेपर लोड भएका कन्टेनरहरू बंगलाबन्ध नाकामा आएर रोकिएका छन् ।
नेपालले आयात गर्ने अन्य वस्तुहरू उद्योगमै लोड भएर बसेको तथा केही भने गोदामै छन् भन्ने जानकारी आएको उहाँले बताउनु भयो । नेपालबाट बंगलादेशमा काँकडभिट्टा नाका हुँदै मुसुरोको दाल, चिराँइतो, चुत्रो, डाबर च्यवनप्रास लगायत पनि निर्यात हुने गरेको छ । त्यस्तै बंगलादेशबाट जुट, टिस्यु पेपर, मेडिसिन, धागो आयात हुने गरेको छ ।
नेपालले बंगलादेश निर्यात गर्दा नेपाली गाडीहरू बंगलाबन्ध–फुलबारी नाकामा पुगेर बंगालदेशको गाडीमा अनलोड गर्छन् भने त्यहीँबाट नेपाल आयात हुने सामग्रीहरू पनि लोड गरेर नेपाली गाडीले ल्याउने गर्छन् । काँकडभिट्टाबाट नेपालले साउनयता मात्रै २० करोड ६५ लाख रुपैयाँको आयात गरिसकेको छ भने १ करोड ३५ लाखको निर्यात गरेको छ ।