मेचीनगर,साउन ११ । झापाको मेचीनगर नगरपलिकाले राष्ट्रिय आवास कम्पनीले मेचीनगर क्षेत्रका जग्गा हस्तान्तरण नगरे कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएको छ । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनीले मेचीनगर क्षेत्रमा रहेको सार्वजनिक प्रयोजनका जग्गाहरू तत्काल हस्तान्तरण नगरे नगरपालिकाले हस्तक्षेप गर्न बाध्य हुने चेतावनी दिनुभएको हो ।
आवास कम्पनीले मेचीनगर–६ स्थित सार्वजनिक प्रयोगमा रहेका जग्गाहरु हाल सम्मपनि स्थानीय तह वा सम्वन्धित संस्थाहरुलाई विधिसम्मत हस्तान्तरण नगर्दा समस्या भएको बताउँदै नगरप्रमुख बुढाथोकीले तत्काल उक्त जग्गा हस्तान्तरण गरिनुपर्ने बताउनुभयो । नगरपालिकाले बारम्बार समस्या समाधान गर्न खोज्दा पनि राष्ट्रिय आवास कम्पनिले अग्रसरता नदेखाएको प्रमुख बुढाथोकीको आरोप छ ।
स्थानीय तहको हैसियतले त्यस कार्यको बिरूद्धमा डटेर लाग्ने बताउदै नगर प्रमुख बुढाथोकीले बारम्बार आश्वासन दिदै त्यसपछि निराश हुनुपर्ने यो क्रमको अन्त्य हुनुपर्ने बताउनुभयो । वसपार्क, क्याम्पस, विद्यालय, खेलमैदान लगायत थुप्रै सार्वजनिक प्रयोगका जमिनहरूमा धनिपुर्जा अभावमा स्थाई र विकशित संरचना वनाउन नपाइएको नगरपालिकाले जनाएको छ ।
देवकोटा पार्क र शौचालयको जग्गा ,काकरभिट्टा खेल मैदानको जग्गा,सार्वजनिक शौचालयको जग्गा ,वडा कार्यालय क्षेत्रको जग्गा,विपी पुष्पलाल एवं शहिद स्मृति वाटिका को जग्गा, दमकलको लागि छुट्याइएको जग्गा ,सब्जीबजारको जग्गा ,मासुबजारको जग्गा काकरभिट्टा क्याम्पस र काकरभिट्टा मा.वि. को जग्गा,शिवालय मन्दिर, भिमसेन मन्दिर र धर्मशाला क्षेत्रको जग्गा,श्रीजंगा पुस्तकालयको जग्गा , श्रीजंगा बसपार्कको जग्गा,मिनि मार्केटको जग्गा,खानेपानीको जग्गा,महिला विकास संस्थाको जग्गासहित अन्य केहि सार्वजनिक जमिनहरु तत्काल निशर्त हस्तान्तरण गर्न माग गरिएको छ ।
ति सार्वजनिक जग्गाहरु हस्तान्तरण नगरिए आवास कम्पनिको मेचीनगरस्थित अन्य जमिनहरु सार्वजनिक महत्वका कार्य संचालनका लागी प्रयोगमा ल्याउन वाध्य हुनुपर्ने अवस्था आउने नगरप्रमुख बुढाथोकीले चेतावनी दिनुभएको छ ।