साउन ६,झापा । बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक बन्दै गएपछि नेपाली विद्यार्थी स्वदेश फर्कने क्रम तिव्र बनेको छ । एक हप्ताको समयमा स्थल मार्गबाट पूर्वीनाका काँकरभिट्टा हुँदै करिब ७ सय बिद्यार्थी नेपाल फर्किएका छन् । हवाइ मार्गबाट पनि विद्यार्थी स्वदेश फर्कने क्रम चलिरहेको छ ।
अध्यागमन कार्यालय काँकरभिट्टाका अनुसार बंगलादेशबाट गएको एक हप्तामा ५ सय १८ जना नेपाली विद्यार्थीहरू पूर्वी नाका हुदै नेपाल फर्किएका छन् । त्यस्तै आज थप १ सय ३० जना विद्यार्थि यो मार्ग हुदै नेपाल फर्किएको अध्यागमन प्रमुख मोहन पनेरूले जानकारी दिनुभयो । यस अघि शनिवार १४१ जना, शुक्रवार ११४ जना र विहीवार ८५ जना नेपाली विद्यार्थीहरु यो नाका हुदै स्वदेश फर्किएको उहाँले बताउनुभयो ।
नेपाली विद्यार्थीहरुसँगै बंगलादेशमा अध्ययनरत् मालद्विपकी एक छात्रा समेत काँकडभिट्टा नाका भएर नेपाल आएको अध्यागमन कार्यालयले जनाएको छ । त्यस्तै आज हवाइमार्ग हुदै ५७ जना विद्यार्थी काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
अदालतले खारेज गर्यो अधिकांश आरक्षित सिट :
बंगलादेशको सर्वोच्च अदालतले सरकारी जागिरमा तोकिएको अधिकांश आरक्षित सिट खारेज गरेको छ । देशभरमा आरक्षणको विरोधमा भएका व्यापक विरोध प्रदर्शनमा १ सय १५ जनाभन्दा बढीको मृत्यु भएपछि सर्वोच्च अदालतले आरक्षण सङ्ख्यामा उल्लेख्य कटौतीको निर्णय गरेको हो ।
सरकारले सन् १९७१ मा पाकिस्तानसँगको स्वतन्त्रता युद्धमा संलग्नहरूको आफन्तका लागि भनेर सरकारी जागिरमा एक तिहाइ आरक्षणको व्यवस्था गरेको थियो । अब भने सर्वोच्चले सो आरक्षण झारेर ५ प्रतिशतमा सीमित गरेको छ । सर्वोच्च अदालतको फैसलाले सार्वजनिक क्षेत्रका ९३ प्रतिशत रोजगारी योग्यताका आधारमा भर्ना गर्नुपर्ने आदेश दिएको छ, बाँकी २ प्रतिशत जातीय अल्पसङ्ख्यक वा अपाङ्गता भएका मानिसहरूका लागि आरक्षित छ ।
आरक्षणको विरोधमा पछिल्लो हप्तादेखि चर्किएको आन्दोलनका कारण बङ्गलादेशको अवस्था निकै खराब बनेको छ । देशभर कर्फ्यु लागू भएको छ, सरकारले इन्टरनेट बन्द गरेको छ । सडक, विद्यालय, विश्वविद्यालय, व्यापारिक क्षेत्रलगायत बन्द छन् । विदेशी नागरिकले धमाधम बङ्गलादेश छाडिरहेका छन् ।