बाहुनडाँगी, साउन ३ । झापाको मेचीनगर ४, बाहुण्डाँगी बजारको पुर्व तर्फ मेची नदिको किनारमा बन्दै गरेको प्रकृति पार्कमा बृक्षारोपणलाई अभियानकै रुपमा सञ्चालन गरिएको छ । पाँच हजार विरुवा रोप्ने लक्ष्य राखिएको प्रकृति पार्कमा अहिलेसम्म विभिन्न संघ संस्थाको सक्रियतामा दुई हजार विरुवा रोपिएको मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले बताउनु भयो । भारततर्फबाट आउने जंगली हात्तीबाट प्रभावित बाहुनडाँगीलाई हात्तीको क्षतिबाट जोगाउन र पर्यटन प्रवद्र्धन गरी स्थानीयको आयआर्जन गर्न प्रकृति पार्कले सहयोगी भुमिका खेल्ने वडा अध्यक्ष कार्कीले बताउनु भयो ।
‘हात्ती नेपालतर्फ प्रवेश गर्दा यहाँ रोपिएका बगैचाका आहारमा हात्ती अल्मलिने छन,’ कार्कीले भन्नुभयो, ‘हात्तीलाई चरणको लागि हैन तर, हात्ती पार्कमै रोकिएर फर्कने अवस्था बन्छ र सोही दृश्य हेर्न पर्यटक आउने छन ।’ पार्कमा अहिले हात्तीका रुचिकर विरुवाहरु बडहर, हात्तीफल, बर पिपल तथा अन्य गायो, अमला, इन्चाक, शिरिसको प्रजाती, तित्री, लिच्ची अम्बा, कुसुम, चिउरी, जमुनालगायतका बिरुवा रोपिएको अध्यक्ष कार्कीले बताउनु भयो ।
बुधबार बाहुण्डाँगी जेसीजले आयोजना गरेको वृक्षारोपणमा ५ सयबढी बिरुवा रोपिएको अध्यक्ष देबु बानियाँले बताउनु भयो । वृक्षारोपण कार्यक्रमलाई मेचीनगर लेडी जेसीज, धुलाबारी जेसीज, चारआली जेसीज र आरआरटी बाहुण्डाँगीले सहआयोजना गरेका थिए । कार्यक्रममा मेचीनगर लेडी जेसीजका अध्यक्ष पवित्रा विमली प्रसाई, महासचिव रेजीना श्रेष्ठ, चारआली जेसीजका अध्यक्ष भोजराज पराजुली र धुलाबारी जेसीजका अध्यक्ष मञ्जील रसाइलीको समेत उपस्थीती रहेको थियो ।