विर्तामोड, असार २९ । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो शाखा कार्यालय विस्तार गर्ने भएको छ । कोशी प्रदेशकै पहिलो प्रादेशिक बैंकका रुपमा रहेको एक्सेल बैंकको आज विर्तामोडमा सम्पन्न १८ औं वार्षिक साधारण सभामा आगामी आर्थिक बर्षको शुरुवातमा नै धनकुटा र संखुवासभामा शाखा बिस्तार गर्ने बताइएको छ ।
बैंकका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गोयलले कोरोनाको महामारी पछि देशकै आर्थिक अवस्था संकटग्रस्त रहेकाले त्यसको प्रभाव बैंकीङ क्षेत्रलाई समेत परेकाले बैंकको नाफामा समेत कमी आएको बताउनु भयो । वहाँले लगानीको वातावरण भरपर्दो नबनेका कारण बैंकमा पैसा थुप्रिएको पनि बताउनु भयो ।
साधारण सभाका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कोभिड र रसिया युक्रेन युद्धका कारण थला परेको अर्थतन्त्रमा क्रमिक रुपमा सुधार आएको बताउनु भयो । देशका दुई ठुला राजनितिक दल मिलेर सरकार बन्न लागेकाले त्यसले स्थीरता दिन सक्ने विश्वास भएको बताउँदै एक्सेल बैंकका पुर्व अध्यक्ष समेत रहनु भएका ढकालले स्थीर सरकार हुँदा अर्थतन्त्र चलायमान हुने बताउनु भयो ।
साधारणसभामा संस्थापक शेयर सदस्यहरुका तर्फबाट डा रुपक खनाल र सुरेशकुमार अग्रवालले बैंकको अवस्थालाई थप सुधार गर्दै लैजाने सञ्चालक समिति र व्यवस्थापनको उच्च तहबाट खराब ऋणलाई उठाउने विभिन्न योजनाहरु ल्याउनु पर्ने सुझाव दिनु भएको थियो ।
साधारण सभामा बैंकको वर्तमान अवस्थाका बारेमा जानकारी दिदैं प्रमुख कार्यकारी अधिकृत डा इन्द्रकुमार कट्टेलले बैंकलाई प्रविधिमा थप सुधार गर्दै लैजाने बताउनु भयो । वहाँले डाटाबेसलाई वेब बेसमा लैजाने तयारी भइरहेको जानकारी दिनुभयो । कोशी प्रदेशका विभिन्न ६ वटा जिल्लामा ४५ वटा शाखा सञ्चालनमा रहेको एक्सेल बैंकको दुई लाख ३० हजार भन्दा बढी ग्राहक रहेको प्रमुख कार्यकारी अधिकृत कट्टेलले बताउनु भयो ।
विर्तामोडस्थी सिद्धार्थ होटलमा सम्पन्न भएको साधारण सभामा बैंकका सञ्चालक सदस्य राजन शर्माले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन बैंकका मानव संसाधन विभागका प्रमुख श्यामबहादुर बोहराले गर्नु भएको थियो ।