झापा, असार २६ । झापाको मेचीनगर नगरपालिका वडा नं. ५ सृजना चोक उत्तर तर्फ ४५० घन लिटरको खानेपानीको ओभरहेड टेंकी निर्माणको शिलान्यास गरिएको छ । काकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्था अन्तरगत निर्माण हुने टेंकीको आज एक कार्यक्रमकाबीच झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले शिलान्यास गर्नु भएको छ । उक्त अवसरमा बोल्दै सांसद शर्माले आम नागरिकमा आशा जगाउन राज्यको सबै तहबाट जनअपेक्षा अनुसारको कामका लागि ध्यान केन्द्रीत गर्नु पर्ने बताउनु भयो ।
कुल १० करोड ४८ लाख १९ हजार ४ सय ७७ रुपैयाँको लागतमा ३० महिनामा निर्माण सम्पन्न गर्ने गरी काठमाण्डौको ग्लोबल दिपेश जेभीले निर्माणको ठेक्का पाएको छ । निर्माणका लागि लाग्ने कुल लागतमध्ये ९ करोड १७ लाख १७ हजार ४२ रुपैयाँ संघीय सरकारबाट र एक करोड ३१ लाख रुपैयाँ काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबाट व्यहोर्ने गरी सम्झौता भएको काकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्यालय प्रमुख दिपक पोखरेलले बताउनु भयो ।
आयोजनामा मेचीनगर ५ मा एउटा ४५० घन लिटर र अर्को शान्ति रमाईलो गाउँमा २२५ घन लिटरको ओभरहेड टेंकी सहित चारवटा वोरिङ्ग, दुईवटा जेनेरेटर, दुईवटा ट्रान्सफर्मर, दुईवटा ट्रिटमेन्ट प्लान्ट, ३५ किलो मिटर पाईप लाईन विस्तार र कार्यालय भवन निर्माण हुनेछ ।
काकरभिट्टा खानेपानी संस्थाका अध्यक्ष रोहित कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा संविधानसभा सदस्य रविन कोइराला, मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेती, नेपाली काँग्रेस झापाका उपसभापति केशवराज पाण्डे, काँग्रेस क्षेत्रीय सभापति इन्द्र बहादुर बुढाथोकी, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु कार्की, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष राजन चिमरिया लगायतले खानेपानीको बढ्दो मागलाई सहज बनाउन र गुणस्तीर पानीको वितरण गर्न यस्ता आयोजनालाई सहजरुपमा सम्पन्न गर्नु पर्ने बताउनु भयो । खानेपानीका उपाध्यक्ष गोविन्द गिरीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम सचिव विशाल तामाङले सञ्चालन गर्नु भएको थियो ।