वर्षाको समयमा या आकासमा बादल भएको बेला झिलिक्क र यो सँगै जोडिएर आउने ठूलो आवाज सँग हामी सबै परिचित नै छौ । यसैलाई हामी चट्याङ्ग भन्छौ । चट्याङ्गका मुख्य दुई भाग हुन्छन, पहिलो कडा प्रकाश अनि दोश्रो ठुलो अवाज । प्रकाश आएको कति समय पछि आवाज आउँछ, त्यसको आधारमा कति टाडा चट्याङ्ग परेको भन्ने कुरा अनुमान गर्न सकिन्छ ।
झिलिक्क गरे लगत्तै घडी हेरेर जति सेकेन्ड पछि गड्याङ्ग गर्छ, त्यो समयलाई ३३२ ले गुणन गर्दा चट्याङ्ग परेको ठाउको दुरि मिटर एकाइमा निस्कन्छ । आकाशमा जब बादलका तहहरु आपसमा रगडिन्छन, बादलमा विद्दुतिय आवेश अर्थात चार्ज उत्पन्न हुन्छ । एकै समयमा बादलका दुई तहमा ऋणात्मक र धनात्मक आवेश उत्पन्न हुने गर्दछ । यी दुई आवेशयुक्त बादल नजिक या सम्पर्कमा आए भने दुवै आवेशहरु आपसमा मिल्न पुग्छन, यो प्रकृयामा प्रचुर मात्रामा उर्जा उत्सर्जन हुन्छ, जुन ताप, प्रकाश र ध्वनीको रुपमा हामी सम्म आइ पुग्छ । यसैलाई हामी चट्याङ भन्छौ ।
कहिले काहीँ कम उचाइका आवेश युक्त बादल अग्ला घर या रुखमाथी आउदा हावाको विद्युत अवरोध क्षमतालाई चिरेर विद्दुत वादलबाट जमिन तर्फ ओर्लिन्छ । यसलाई हामी चट्याङ्ग परेको भन्छौ । यस्तो घटनाले धेरै ठूलो जनधनको क्षती गर्न सक्छ । चट्याङ्गबाट जोगिन कहिलेइ पनि गड्याङ्ग गुडुङ्ग गर्न थालेको बेला अग्ला रुख, टावर, धातुका खम्बा, पानीका पोखरी आदिको सम्पर्क या समिपमा रहनु हुदैन । घर भित्र बस्दा धेरै हद सम्म चट्याङ्बाट जोगिन सकिन्छ । बरु खुल्ला ठाउमा गोलिगाँठाहरु आपसमा जोडेर टुक्रुक्क बस्दा चट्याङ्को प्रहारबाट आफुलाई जोगाउन सकिन्छ । घरमा ओच्छ्याइएका बिद्दुतका तारहरु, विद्दुतका खम्बामा टाँगिएका तारहरु यस्तो समयमा बढी जोखिममा हुने गर्दछन । चट्याङ्लाई विभिन्न अलौकिक कुराहरु सँग जोडेर ब्याख्या गर्ने गरिन्छ ।
नाग प्रजातीका जीवहरु: बिच्छी , खजुरो आदि भएको ठाउँमा चट्याङ् पर्ने, कालो लुगा लगाउदा चट्याङ्ले हिर्काउने, चट्याङ् परेको बेला उत्तानो सुत्नु नहुने, चट्याङ् इन्द्रले हानेको बज्र हो आदि जस्ता कुराहरु धेरै सुनिने गरेका छन् तर यस्ता कुराको कुनै बैज्ञानिक पुष्ट्याइ पाइदैन । कहिले काहीँ जमिनमा चट्याङ् परेको बेला त्यहा ढुङ्गा या त्यस्तै प्रकारको अनौठो बस्तु भेट्न सकिन्छ । कहिले काहीँ विद्द्युतिय आवेशले जमिनमा यता उता घुम्दा जमिन जोते जस्तो पनि देखिन सक्छ । ढुङ्गा जस्तो या बञ्चरो जस्तो बस्तु देखिनुको पछाडी दुई कारण हुन सक्छ । पहिलो चट्याङ् पर्दा उत्पन्न हुने अत्यधिक तापले त्यहाँको माटो पग्लिने र पछि त्यो जम्दा अनौठो चट्टान बनिने हुन सक्छ भने कहिले काहीँ विद्दुतिय आवेशको सट्टा आकाशबाट खगोलिय चट्टान खसेको हुन सक्छ र हामीलाई त्यो खसाइ चट्याङ् परेको जस्तो लाग्ने हुन सक्छ । यस्तो चट्टानलाई उल्का प्रायः फलामले बनेको हुन्छ र हावामा घोटिएर बल्दै झर्दा बञ्चरो जस्तो तीखो या धारिलो हुन सक्छ । तर यो अति नै दुर्लभ घटाना हो किनकी दैनिक खस्ने यस्ता हजारौँ चट्टानहरु वायुमण्डलको बिचमै बलेर सकिने गर्दछन ।
मोबाइल फोनले चट्याङ् तान्ने भन्ने कुरा पनि नितान्त भ्रम हो । तार युक्त फोन प्रयोग गर्दा तारको बाटो भएर पवन-विद्द्युत आउने र त्यसले क्षती गर्न सक्छ नै । चट्याङ् परेको बेला घरमा विद्द्युतिय उपकरणहरु गाह्रस्थ विद्दुत लाइनमा जोडेर नचलाएकै बेस हुन्छ तर मोबाइल फोनले आकासको बिचबाट विद्द्युत तान्ने भन्ने हुनै सक्दैन । घर या अग्ला सम्रचनाहरुमा चट्याङ पर्न नदिन लाइट्निङ् रडको प्रयोग गर्न सकिन्छ । यो वस्तु सुचालक धातु जस्तै तामाबाट निर्मित टुप्पो तीखो भएको रड हुन्छ जसलाई घरको सबैभन्दा अग्लो ठाउमा राखिएको हुन्छ र यसको अर्को शिरालाई जमुन मुनिको सम्पर्कमा जोडिएको हुन्छ । यदि बादलमा भएको बिद्दुतको कारणले घरमा विद्दुत आवेश जम्मा हुन पुग्यो भने त्यो तीखो शिरामा उच्च विद्दुत चाप उत्पन्न हुन्छ जसले त्यहा जम्मा भएको विद्दुत आवेसलाई जमिन मुनि पठाउछ र घरमा चट्याङ्ग पर्न पाउदैन ।
समग्रमा चट्यङ्बाट जोगिन:
१. गड्याङ्ग गुडुङ्ग गरेको बेला घर भित्र बस्ने, अग्ला टावर या रुखको फेदमा नजाने, नबस्ने ।
२. धातुका पोल, टावर, तार, रड, रेलिङ्आदिको सम्पर्कमा नबस्ने ।
३. पानी जमेको ठाउँ या हिलो जमिनमा नजाने, खेतमा भएको अवस्थामा त्यस्तो ठाउबाट पर जाने ।
४. खुल्ला मैदानमा पुगियो भने दुई गोलिगाठा आपसमा जोडेर टुक्रुक्क बस्ने ।
५. अग्ला घर या टावरमा लाइटनिङ्ग रड जडान गर्ने ।
६. गाड्याङ्ग गुडुङ्ग गरेको बेला बिद्दुतिय उपकरलाई विद्दुतमा नजोड्ने या जोडेर नचलाउने ।