झापा, असार १७ । आफ्ना उत्पादनलाई डिजिटल प्रविधिको प्रयोग गरेर बजारीकरण गर्ने शीपको विकास गराउने उद्देश्यले आयोजना गरिएको डिजिटल मार्केटिङ सम्बन्धी दुई दिवशीय तालिम सोमबार बिर्तामोडमा सुरु भएको छ । महिला उद्यमी संघ नेपाल झापा शाखाले आयोजना गरेको तालिममा उत्पादनमा जोडिएका ५० बढी महिलाहरुले सहभागिता जनाएको महिला उद्यमी संघ झापाकी अध्यक्ष सुस्मा भण्डारी पौडेलले जानकारी दिनु भयो ।
तालिम उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथि सप्तकोशी डेभलपमेन्ट विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेलले उद्यमीहरुले बैंकबाट ऋण लिंदा ब्याजदरसंगै अब प्रिमियम कति जोडिन्छ भनेर समेत प्रश्न गर्नु पर्ने अवस्था आएको बताउनु भयो । महिला उद्यमीहरुलाई आर्थिक व्यवस्थापनका लागि सप्तकोशी बैंकले सहजिकरण गर्ने समेत पोखरेलले प्रतिबद्धता जनाउनु भएको थियो ।
तालिमको उदघाटन सत्रमा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, महिला उद्यमी संघ झापाकी संस्थापक अध्यक्ष गोमा भट्टराई, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली, शुशिला कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । तालिममा विमल राजवंशी, विकास कोइराला र साइमन बस्नेतले सहजीकरण गर्ने बताइएको छ ।
बिर्तामोड, बुद्धशान्ति, मेचीनगर, कनकाई, दमक, गौरादह सहित जिल्लाभरिका महिला उद्यमीहरुको सहभागिता रहेको तालिममा सहभागिहरुले प्रविधिको प्रयोगले आफ्नो व्यवशायको दायरा फाराकिलो बनाउन सजिलो हुने भएकाले तालिममा सहभागि भएको बताएका छन ।
बिर्तामोडस्थीत इन्द्रेणी बैंक्वेटमा महिला उद्यमी संघ झापाकी अध्यक्ष सुस्मा भण्डारी पौडेललेको अध्यक्षमा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सर्मिला अधिकरीले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको कार्यक्रमको सञ्चालन महासचिव यमुना तिवारीले गर्नु भएको थियो ।