रक्सी, अल्कोहल, जाँड, बियर, व्हिस्की, रम जे जे नाम दिए पनि यी सबैमा पाइने साझा वस्तु इथाइल अल्कोहल या इथानोल हो । यसको सेवन पश्चात् मानिसलाई नसा या मात लाग्ने गर्दछ ।
रक्सी खादा हुने नकारात्मक असरहरु:
१. शारीरिक निर्भरता: रक्सीको लत बसेपछी रक्सी खान नपाउदा शरीर दुख्ने, सन्तुलन डगमगाउने, हात खुट्टा बाउडिने, केही बस्तु समाउन र अड्याएर राख्न गाह्रो हुने, हात खुट्टा काप्ने हुन्छ । रक्सी खाए पछि त्यो समस्या क्षणिक रुपमा हट्ने भएकोले रक्सी खानै पर्ने बाध्यता हुन्छ ।
२. मानसिक निर्भरता: रक्सी खान नपाउदा मानसिक छाटपटी हुने, आत्मबिस्वास र आत्म सम्मान गुमे जस्तो हुने, हिम्मत नहुने, कोहि सँग आँखा जुधाएर बोल्न नसक्ने, राती निन्द्रा नलाग्ने आदि हुन्छ । कडा तलतल लाग्ने भएकाले मानिसले आफुलाई रक्सिबाट पर राख्न सक्दैन । यसले ब्यक्तिको स्वाभावलाई झगडालु या चिड्चिडे बनाउने, मुड स्विङ्ग हुने अर्थात कोहि बेला डिप्रेसन भइ केही गर्न सक्दिन भन्ने भावना जागृत हुने र कोहिबेला मेनिया अर्थात सुपरमेनको जस्तो फिलिङ्स आउने हुन्छ ।
३. भिटामिनको कमि हुने: रक्सिको सेवन गर्दा ठूलो आन्द्राबाट हुने भिटामिनको शोषण रोकिन्छ, जसले गर्दा क्रमश शरीरमा भिटामिनको कमि हुँदै जान्छ । यसले हाम्रा नसाहरुमा क्षती गराउने भएकोले ब्यक्तिमा नसा सम्बन्धी समस्याहरु देखिन थाल्छन ।
४. सामाजिक क्षती : रक्सि सेवनको सबैभन्दा नराम्रो पक्ष भनेको यसले गर्ने सामाजिक क्षती हो । नसाको सुरमा ब्यक्तिले गरेका कार्यहरुले ब्यक्तिलाई क्रमश: समाजबाट अलग्याउछ ।
५. रक्सिको नसामा भएको बेला ब्यक्तिमा समय, दुरि र स्थानको बारेमा भ्रम हुन सक्छ । यसतो बेला सवारीको साधन कुदाउदा दुर्घटना हुन सक्छ । हिड्दा शरीर नियन्त्रणमा नहुने हुँदा लडेर चोट पटक लाग्ने हुन सक्छ। चर्को घामलागेको ठाउँमा लडेर घामले सेकिएर या अति जाडो ठाउँमा लडेर चिसोले कठ्याङ्गृएर मृत्यु हुन सक्छ ।
६. रक्सी खाएको बेला शरीरको बाहिरी सतहमा हुने रक्तसञ्चार बढ्ने भएकाले ब्यक्तिलाई कम जाडो भएको भान हुन्छ र उ जाडोबाट जोगिन चाहदैन तर उसलाई चिसोले भित्र भित्रै नराम्रो असर गरिरहेको हुन सक्छ ।
७. अत्यधिक रक्सी सेवन गर्दा रक्तचाप बढेर मस्तिष्क घात हुने हुन सक्छ ।
८. रक्सी हाम्रो शरीरको लागि बिष पदार्थ हो, त्यसैले शरीरले यसलाई बाहिर फ्याक्ने या विषरहित गराउने कार्य सुरु गर्छ । यसको लागि मृगौला, फोक्सो र कलेजोले अतिरिक्त कार्य गर्नु पर्छ, जसले गर्दा हाम्रा यी अङ्गहरु क्रमश: कमजोर हुँदै जाने हुन्छ ।
९. नसा खाँदा हाम्रो मस्तिष्कमा डोपामाइन भन्ने पदार्थ उत्सर्जन हुन्छ जसले हामीलाई आनन्दको अनुभूति गराउछ । यहि आनन्दको प्राप्तिको लागि मस्तिष्कले नै रक्सिको माग गर्दछ, जसलाई हामी तलतल भन्छौ । जुनसुनै नसाको तलतलको कारण नै यहि हो । जब नसाको लत लाग्छ, सामान्य अवस्थामा हामीलाई प्राप्त हुने प्राकृतिक आनन्दको लागि पनि नसा खानु पर्ने हुन्छ। यसैलाई निर्भरता भनिन्छ । नसा खान थाले पछि आज जति मात्रामा खाँदा त्यो आनन्द प्राप्त हुन्थ्यो, त्यति नै सन्तुष्टि प्राप्त गर्न भोलि अतिरिक्त मात्रा लिनु पर्ने हुन्छ । रक्सिमा यो झन धेरै लागू हुन्छ । अझ रक्सी खाएको बेला जोस्सिएर साथीभाइको लहडमा अतिरिक्त मात्र लिनु त सामान्य नै हो । यसले अझ बढी क्षति गराउछ ।
१०. रक्सी सेवनको लागि नियमित रुपमा गरिने खर्चको सञ्चय गर्ने हो भने त्यसले उल्लेखनिय कार्य गर्न सकिन्छ । यस्तो खर्च भनेको चुहुने झोलामा सामन राखेर हिड्नु जस्तै हो ।
११. घरको अभिभावकले नियमित रुपमा रक्सी सेवन गरेर घरमा आउदा घरका अरु सदस्यहरुले त्यसलाई नस्वीकार्ने भएकोले घरभित्र स्थाइ रुपमा कलह हुने र यसको नकारात्मक प्रभाव छोराछोरीहरुमा समेत पर्ने हुन्छ ।
त्यसैले, भरसक रक्सी खादै नखाउ र यदि खानु हुन्छ भने लत लाग्नबाट जोगिने गरौँ । नसालु पदार्थको सेवन भासमा पसे जस्तो जति निक्लिन खोज्यो त्यति नै गाडिदै जाने हुन्छ । त्यसैले एक बिर्को त हो नि, चाख्ने त हो नि, आज धेरै जाडो भएर त हो नि, आज मिल्ने साथी भेटिएर त हो नि भन्दै जाक्किदै जानबाट जोगिनु नै बुद्धिमानी हुन्छ ।
नसाको लतमा पर्नु अघि मात्रै हो आफू सचेत हुने या मानिसको बिवेकले काम गर्ने । लत लागि सकेपछी आफैँ आफुलाई नियन्त्रण गर्न सक्ने अवस्था ९९% मानिसमा हुदैन । त्यसैले नसामा डुबेको मानिसलाई बिमारी भएको भन्ने बुझेर मनोपरामर्श दाताकोमा लैजाने र सुधार केन्द्रमा राखेर उपचार गराउनु नै श्रेयस्कर हुन्छ । शारीरिक बिमारी भएको अवस्थामा जस्तो प्रकारको पारीवारिक सद्भाव र सहकार्यबाट उपचार गराइन्छ, त्यस्तै प्रकारले नसा खानेलाई पनि उपचार गराउनु पर्ने हुन्छ ।