इटाभट्टा, असार १३ । मेचीनगर स्तरीय अन्तर माद्यमिक विद्यालय वक्तृत्व कला प्रतियोगितामा धुलाबारी माविकी दिव्या राय प्रथम हुनु भएको छ । नगरस्तरीय दलित समन्वय समितिद्वारा आयोजित ‘जातिय विभेद र छुवाछुतको अन्त्य, समृद्ध र समतामूलक समाज हाम्रो गन्तव्य’ बिषयक वक्तृत्व कला प्रतियोगिताको आज सम्पन्न फाइनलमा ११ प्रतिस्पर्धीलाई पछि पार्दै दिव्याले प्रथम स्थान हासिल गर्नु भएको हो ।
प्रतियोगितामा ओसनिक निर्माण मावि मेचीनगर २ का रिद्वम दाहाल दोस्रो र सरस्वती वालकल्याण मावि मेचीनगर १२ की प्रोसिमा घिमिरे तेस्रो हुनु भएको छ । प्रथम हुनेलाई १० हजार १२५, दोस्रो हुनेलाई ७ हजार १२५ र तेस्रो हुनेलाई ५ हजार २५० नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो । विजयीहरुलाई कार्यक्रममा अतिथीहरु मेचीनगर वडा नं. ८ का वडा अध्यक्ष गिरीराज धमला, मेचीनगरका शिक्षा तथा खेलकुद शाखा प्रमुख होमनाथ भण्डारी लगायतले प्रमाण पत्र, दोसल्ला र नगद पुरस्कार प्रधान गर्नु भएको थियो ।
आदर्श मावि इटाभट्टामा सम्पन्न फाइनल प्रतिस्पर्धामा प्रमुख अतिथि मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पाखरेल उप्रेती, शिक्षा शाखा प्रमुख भण्डारी, वडा अध्यक्ष धमला, प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचाल, आदर्श माविका प्रधानाध्यापक कृष्ण पुुरी लगायतले समाजमा रहेको छुवाछुतको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न विद्यार्थीहरुले गरेको प्रस्तुतीले भविश्यमा सकरात्मक प्रभाव पार्ने बताउनु भयो ।
मुख्य निर्णायक प्रध्यापक प्रेमसागर घिमिरे, निर्णायकहरु पूर्व शिक्षक राजकुमार विश्वकर्मा र सञ्चारकर्मी शुष्मा राजवंशी रहेको प्रतियोगितामा तीन चरणको छनौट चरण पार गरी फाइनल प्रतिस्पर्धाका लागि छनौट भएका १२ प्रतियोगिले सहभागिता जनाएको प्रतियोगिताको सभापतित्व नगर स्तरीय दलित समन्वय समितिका अध्यक्ष रिता परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका उपाध्यक्ष लक्ष्मी परियारले स्वागत मन्तव्य राख्नु भएको थियो भने आदर्श माविका शिक्षक जि आर धितालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।