मेचीनगर, असार ११ । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमवार दोस्रो नगरसभाको पाँचौ अधिवेशनको उद्घाटन गर्दै मेचीनगरले आफ्नो आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रमको प्राथमिकता प्रस्तुत गरेको हो ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख मिना पोखरेल उप्रेतीले बजेट प्रस्तुत गर्नु भएको थियो । उपप्रमुख उप्रेतीले दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँको बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ७३ करोड ९६ लाख ९४ हजार, पुँजीगततर्फ १ अर्ब ३१ करोड ७ लाख ८ हजार र वित्तिय व्यवस्थापनतर्फ २५ लाख गरी कुल २ अर्ब ५ करोड २९ लाख २ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो ।
५ युनिटसम्म खानेपानी निशुल्कः
बिपन्न परिवारलाई ५ युनिटसम्म खानेपानीको खपतलाई निशुल्क बनाउने घोषणा नगरको आगामी आर्थिक बर्षको बजेटमा गरिएको छ ।
धुलाबारीमा नगर अस्पतालः
धुलाबारी स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी नगरअस्पताल सञ्चालन गरिनेछ । १५ शैय्याको नगरअस्पतालमा स्वास्थ्य विमाको समेत व्यवस्था गरिने बजेटमा उल्लेख गरिएको छ ।
किसान सूचीकृतः
उपप्रमुख उप्रेतीले प्रस्तुत गरेको बजेट तथा नीति कार्यक्रममा मेचीनगरले अब किसानहरुलाई सूचीकृत गर्ने उल्लेख गरिएको छ । किसानलाई दिने विभिन्न सुविधा सूचीकृत गरेर उपलब्ध गराउने बताइएको छ ।
डिजिटल बडापत्रः
नगर कार्यपालिकाको कार्यालय र सबै १५ वटै वडा कार्यालयमा डिजिटल नागरिक बडापत्र राखिने भएको छ । वडा पत्रमा वडा तथा नगरपालिकाको कार्यालयले दिने सेवाका बारेमा जानकारी गराइने छ भने विभिन्न सेवा लिन आउँदा आवश्यक कागजातको समेत जानकारी वडापत्रमा नै राखिने छ ।
भुक्तानी सिधै बैंक खातामाः
अहिलेसम्म चेक मार्फत भुक्तानी गरिरहेको मेचीनगर नगरपालिकाले अब चेक मार्फत हुने भुक्तानीलाई अन्त्य गरेको छ । अब भुक्तानी सम्बन्धीत संस्था वा व्यक्तिको बैंक खातामा सिधै जम्मा गरिने व्यवस्था लागू गरिने छ । जसका कारण अहिले भूक्तानीमा देखिको ढिलासुस्ती अन्त्य हुने नगरपालिकाले जनाएको छ ।
पाँच लाखसम्मका योजना उपभोक्ता समिति मार्फतः
नगरपालिकाले आगामी आर्थिक बर्षदेखि ५ लाखसम्मका भौतिक पुर्वाधारका योजनाहरु वडा कार्यालयबाटै सम्पन्न गर्ने निति लिएको छ । अन्य कार्यक्रमको हकमा २ लाखसम्मको वडा कार्यालयबाट नै सम्झौता र फरफारक हुने व्यवस्था गरिएको छ । पाँच लाख भन्दा माथीका योजनाहरु ठेक्का मार्फत गरिने बताईएको छ ।
विपन्नलाई घर र छानाः
बिपन्न २० परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिने भएको छ । त्यस्तै विपन्न समुदायका एक सय घरमा नगरपालिकाले आगामी आर्थिक बर्षमा घरको छाना जस्ता पाताको लगाइदिने भएको छ ।
नगरसभामा उपप्रमुख उप्रेतीले प्रस्तुत गरेको बजेटमा नगर स्तरीय चालु खर्चतर्फ २५ करोड १२ लाख ५० हजार, पुँजीगत खर्च ३५ करोड ५६ लाख ८ हजार गरी कुल ६० करोड ६८ लाख ५८ हजार, वडा स्तरीय चालु खर्च ७५ लाख, पुँजीगत खर्च १२ करोड ७५ लाख गरी कुल १३ करोड ५० लाख , संघबाट वित्तिय हस्तान्तरण मार्फत बिषयगत सशर्त अनुदान ४७ करोड २८ लाख पुँजीगत खर्चतर्फ ७८ करोड ६ लाख गरी कुल १ अर्ब २५ करोड ३४ लाख, प्रदेशबाट वित्तिय हस्तान्तरण मार्फत बिषयगत सशसर्त अनुदान चालु खर्चतर्फ ८१ लाख४४ हजार पुँजीगततर्फ २ करोड ७० लाख गरी कुल ३ करोड ५१ लाख ४४ हजार, ऋणको साँवा ब्याज भुक्तानी वित्तिय व्यवस्थापनतर्फ २५ लाख र समपुरक पुँजीगततर्फ २ करोड रुपैयाँको रहेको छ ।
आयतर्फ आन्तरिक आम्दानी १६ करोड ७७ लाख रुपैयाँ, संघीय सरकारको वित्तीय समानीकरणतर्फ २४ करोड ९५ हजार रुपैयाँ, सशर्त चालू अनुदानतर्फ ४७ करोड २८ लाख रुपैयाँ, सशर्त पूँजीगत अनुदानतर्फ ७५ करोड ५६ लाख रुपैयाँ, विशेष अनुदानतर्फ २ करोड ५० लाख रुपैयाँ र राजश्व बाँडफाँटतर्फ १७ करोड ३७ लाख ६० हजार रुपैयाँ रहेको बजेटमा उल्लेख छ ।
यसैगरी, आयतर्फको कोशी प्रदेश सरकारको वित्तीय समानीकरणतर्फ १ करोड ६३ लाख रुपैयाँ, सशर्त चालू अनुदानतर्फ ८१ लाख ४४ हजार रुपैयाँ, सशर्त पुँजीगत अनुदानतर्फ १ करोड ४० लाख रुपैयाँ र राजश्व बाँडफाँटतर्फ १ करोड ७० लाख रुपैयाँ, समपूरक अनुदानतर्फ १ करोड ३० लाख रुपैयाँ, मालपोत घर रजिस्ट्रेसनबाट ११ करोड रुपैयाँ र दहत्तरबहत्तरबाट ३ करोड प्राप्त हुने बजेटमा जनाइएको छ ।
कूल बजेटमध्ये चालू खर्चमा ३६ दशमलव ०३ प्रतिशत, पूँजीगत खर्चमा ६३ दशमलव ८५ प्रतिशत र वित्तीय व्यवस्थानमा शुन्य दशमलव १२ प्रतिशत बजेट बिनियोजन गरिएको पाइएको छ ।