झापा,असार ५ । कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेटमा कृषि क्षेत्रको विविधीकरण, व्यवसायीकरण र बजारीकरणलाई प्राथमिकतामा राखिएको छ । नेपालको समग्र कृषि उत्पादनमा सबैभन्दा बढी २१.६ प्रतिशत हिस्सा ओगटेको कोशीको लागि प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको हो ।
आगामी आर्थिक वर्षका लागि कुल ३५ अर्ब २७ करोड ९३ लाख बजेट विनियोजन गरेको कोशी प्रदेश सरकारले गुणस्तरीय बीउको प्रयोगबाट मात्र खाद्यान्न बालीको उत्पादन र उत्पादकत्व वृद्धि सम्भव भएको ठहर गर्दै प्रदेशमै गुणस्तरीय बीउ उत्पादन, आपूर्ति र नियमनको कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा धानको बीउको स्रोतकेन्द्रको रूपमा विकास गर्न १ करोड १८ लाख बजेट व्यवस्था गरिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले जानकारी दिनुभयो ।
किसानलाई प्राङ्गारिक मलको प्रयोगमा प्रोत्साहन गर्न २ करोड ७५ लाख, रैथाने बालीहरूको पहिचान, संरक्षण, प्रवर्धन, परिकार विविधीकरण तथा बजारीकरण प्रवर्धधन गर्न १ करोड २० लाख बजेट छुट्याइएको छ। खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐनअनुसार प्रदेश परिषद्को गठन गर्ने, धेरैभन्दा धेरै किसानको पँहुच पुग्ने गरी बैक, वित्तीय संस्था तथा सहकारी संस्थामार्फत सर्वसुलभ रूपमा कर्जा उपलब्ध गराई ब्याज अनुदानका लागि ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
व्यावसायिक रूपमा फलफूल, चिया, कफी, मह तथा गाईभैंसी, बाखा, चौरी लगायतका अन्य पशुपन्छीजन्य उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण प्रवर्धनमा स्थानीय तहसँग सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने गरी १६ करोड १० लाख, मकै उत्पादन क्षेत्रमा भूमिगत सिँचाइ व्यवस्थापन र आधुनिक कृषि यन्त्र उपकरणको प्रयोगमा सहयोगका लागि ९ करोड ५० लाख बजेट ल्याइएको छ। चिया टिपाइ र ढुवानीका क्रममा हरियो पत्तीको गुणस्तर ह्रास हुन नदिन आवश्यक औजार तथा सामग्री प्रयोग प्रवर्धनका लागि २ करोड ५० लाख, बालीवस्तुको समस्यामा आधारित अनुसन्धानमूलक परीक्षण र कृषि तथा पशु सेवा प्रसार कार्यका लागि २ करोड ६० लाख बजेट व्यवस्था गरिएको छ ।
कोशी प्रदेशलाई ३ वर्षभित्र खोरेत रोग मुक्त क्षेत्र बनाउन खोरेत रोग नियन्त्रण आयोजनालाई प्रदेशको प्रमुख कार्यक्रमको शुरुवातका लागि १३ करोड ५७ लाख छुट्याइएको छ भने प्रदेशका सबै जिल्लामा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र स्थापना गरी सञ्चालन गर्ने बताइएको छ।
व्यवसायिक किसानलाई बाली, पशुपन्छी तथा मत्स्य पालनमा विद्यमान समस्या समाधान गर्न विज्ञहरूबाट स्थलगत घुम्ती सेवा सञ्चालनका लागि १ करोड ४८ लाख, गुणस्तरीय कृषि तथा पशु सेवा प्रसारका लागि स्थानीय तहको क्षमता बढाउन तथा भेटेनरी अस्पताल पूर्वाधार निर्माणका लागि २ करोड ३० लाख, कृत्रिम तथा प्राकृतिक पशु नश्ल सुधार कार्यक्रमलाई निरन्तरता दिन १ करोड ६२ लाख रुपैयाँ बजेटको व्यवस्था गरिएको छ।
कोशी सरकारले प्रदेशका मध्य र उच्च पहाडका ७ जिल्लाका २२ स्थानीय तहमा सुन्तला, कागती, जुनार, एभोकाडो, किवी, स्याउ तथा ओखर जस्ता फलफूलको क्षेत्र विस्तार तथा वागवानी फार्म फाप्लुमा फलफूल नर्सरी स्थापना र बगैँचा सुदढीकरणका लागि १२ करोड ४५ लाख बजेट ल्याएको छ। आर्थिक मामिलामन्त्री मगरका अनुसार प्रदेश सरकारले पाँच वर्ष (आव २०७५।७६ देखि २०७९।८० सम्म) मा कृषि उद्यमीहरूका लागि ४ अर्ब ७३ करोड अनुदान प्रदान गरेको छ।