झापा,असार ४ । लगातारको वर्षाका कारण झापाको जनजिवन प्रभावित भएको छ । निरन्तर पानी परिरहेका कारण कयौ क्षेत्रमा डुबान भएको छ भने कतिपय स्थानमा विद्युत अवरुद्ध भएको छ ।
झापाको दक्षिणी क्षेत्रका कचनकवल, झापा, गौरीगञ्जका अधिकांश क्षेत्र डुबानमा परेका छन् । त्यस्तै बाह्रदशी गाउँपालिका राजगढमा रहेको पशुपति माविको हाताभित्र पानी पस्दा डुबानमा परेको छ ।
झापाका कनकाई, मेची, बिरिङ, रतुवा, कमल, किस्ने, देउनियाँ, निन्दा, मावा, हडिया, टाङटिङ, सतासीलगायतका नदी तथा खोलामा पानीको बहाव बढेपछि दक्षिणी क्षेत्र डुबानमा परेको हो ।
कचनकवलका तीन परिवार डुबानमा परेपछि जोखिममा छन् भने एउटा परिवार विस्थापित भएको छ । कचनकवल-५ खुट्टागञ्जका तीन परिवारका १० जना जोखिममा रहेको र एउटा परिवारका तीनजना विस्थापित भएका हुन् । स्थानीय श्रीमलादेवी राजवंशी, कार्तिक राजवंशीको परिवारका पाँचजना र सञ्जय राजवंशीको परिवारका चारजना जोखिममा रहेको प्रहरीले जनाएको छ । त्यस्तै शिवसताक्षी र कनकाई नगरपालिका तथा गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल गाउँपालिकाका बस्तीहरू अत्यधिक वर्षाका कारण जोखिममा छन् ।
तीन दिनयता लगातार परेको पानीको कारण कनकाई माई खोलामा आएको बाढीले झापा गाउँपालिकामा मकैबाली नष्ट भएको छ । झापा–२ सुगाबथान टोल नजिकमा स्थानीय कृषकले अन्दाजी ५० बिघामा लगाएको मकै खेतीमा पानी पसेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार वर्षाका कारण डुबान भएका क्षेत्रको तथ्याङ्क सङ्कलन भइरहेको छ ।
विद्युत् सेवा अवरुद्ध :-
नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्र अन्तरगत तीन पालिकाको विद्युत् सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै परेको चट्याङले बिर्तामोड अनारमनि सबस्टेशनबाट आउने ३३ केभी प्रशारण लाइनमा क्षति पु¥याउँदा गएराति देखि विद्युत् सेवा अवरुद्ध भएको हो । बिर्तामोड देखि भद्रपुर आउने ३३ केभी प्रशारण लाइनमा चट्याङले विभिन्न स्थानमा क्षति पु¥याएको भद्रपुर वितरण केन्द्र प्रमुख राजमणि बजगाईँले जानकारी दिए ।
चट्याङले भद्रपुर, कचनकवल र हल्दिबारी क्षेत्रकाका केही स्थानमा पनि क्षति पु¥याएको छ । विभिन्न स्थानमा मर्मत सम्भारको काम चलिरहेको र विद्युत् सुचारु हुन समय लाग्ने बताइएको छ ।
यस्तै बर्षाका कारण बिर्तामोड नगरपालिका– ८ स्थित भद्रपुर–बिर्तामोड सडक खण्डको हर्चनादेखि प्याकुरेल सम्मको सडक खण्डमा १० वटा बिजुलीको पोल ढलेको छ ।
एउटा पोल सोही स्थानका नारायण श्रेष्ठको पक्की घरमा कोल्टिएर अड्केको, अर्को पोल सोही स्थानका कृष्ण श्रेष्ठको पक्की घरमा कोल्टिएर अड्केको र ८ वटा सोही स्थानका कामेश्वर श्रेष्ठको चिया बगानमा ढलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पोलमा जडित बिर्तामोड नगरपालिकाबाट प्राप्त ५ ओटा सीसी क्यामेरा समेत पोल ढलेर खराब भएको प्रहरीले जनाएको छ ।
मेचीनगरमा चट्याङ लागेर एक जना घाइते :-
झापाको मेचीनगरमा आज बिहान परेको चट्याङ लाग्दा एकजना महिला घाइते हुनुभएको छ । आज बिहान अन्दाजी ३ः०० बजेको समयमा मेचीनगर १५ कालिकाझारमा हावाहुरीसहित आएको चट्याङले लाग्दा २१ वर्षीया रजिता हस्दा घाइते हुनुभएको हो । उहाँको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उहाँको कम्मरमुनि दुखेको र बोल्न सक्ने मध्यम अवस्थामा रहेको बताइएको छ ।