झापा,जेठ ३० । झापाको गिरीबन्धु टी–इस्टेट प्रालिले स्थानियको निरन्तर जनदबाब आएको कारण उपयुक्त ठाउँमा चिया बगानको व्यवस्था गर्ने गरी, जग्गा सट्टा–पट्टाको लागि निवेदन दिएको दाबी गरेको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै गिरीबन्धु टी–इस्टेटले स्थानीयले चिया बगान हटाउन दबाब दिएपछि बगान स्थानान्तरण गर्ने टुंगोमा पुगेर जग्गा सट्टापट्टाका लागि निवेदन दिएको दाबी गरेको हो ।
‘चिया बगान हटाउन निरन्तर जन दबाव आएको र स्थानीय जनताहरुसहित राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु समेतको रोहबरमा छलफल हुँदा चिया बयान कायम राख्न तीव्र विरोध आएको कारण उक्त क्षेत्रबाट चिया बगान हटाउनु नै उपयक्त हुने टुंगोमा पुगेर नै उपयुक्त ठाउँमा चिया बगानको व्यवस्था गर्ने गरी जग्गा सट्टापट्टाको लागि निवेदन गरिएको हो,’ प्रालिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा गिरीबन्धु टी–इस्टेटका अध्यक्ष छत्र गिरीले गिरीबन्धु आफूहरूको निजी सम्पत्ति भएको भन्दै,परिवारको निजी जग्गामा चिया बगानको लागि प्रचलित कानुनबमोजिम हदबन्दीसम्म छुट लिएको दाबी गर्नुभएको छ गिरीबन्धुलाई सित्तैमा सरकारी जग्गा दिएकोजस्तो भ्रमपूर्ण र गलत प्रचारबाजी सम्प्रेषण भइरहेको भन्दै उहाँले आपत्ति जनाउनुभएको छ ।
२०२१ सालमा भूमि सम्बन्धी ऐन लागू हुन अघिनै गिरीबन्धुले चिया खेती विस्तार गरेको गिरीको भनाइ थियो। हदबन्दी छुटमा ५ सय विघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३ सय ९० विघा जग्गा रहेको उहाँले बताउनभयो । एउटै स्थानमा लामो समयदेखि चिया बगान रही माटोको उर्वर शक्तिमा ह्रास आएकाले चिया उत्पादनमा ७० प्रतिशतसम्म ह्रास आएको अवस्थाका कारण चिया मजदुरको रोजीरोटीमा समेत समस्या थपिँदै गएको गिरीको दाबी छ ।
अदालतबाट समेत चिया बगानको लागि सट्टा–भर्नाको जग्गाको सुनिश्चतता, मजदुरको रोजीरोटीको समस्याबाट वञ्चित नगर्ने, सट्टा–भर्ना लिने जग्गाको मूल्यको आधार र चिया उत्पादनको लागि हदबन्दी छुट लिएकाले सोही प्रयोजनमा प्रयोग गर्नुपर्ने आदेश आएकाले आवश्यक प्रक्रिया पूरा गरेर उपयुक्त निर्णयमा पुग्ने जानकारी दिनुभएको छ ।