क्यारेबियन बिस्फोटक ब्याट्यसमेन क्रिस गेलले यो आइपिएलको पहिलो खेलमा सुखद शुरुवात गरेका छन । गेलले अर्धशतकीय इनिगं खेले पछि किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दोस्रो जित निकालेको छ ।
सारजाहमा बिहीबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले दोस्रो जित निकालेको हो ।
सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पन्जाबले २ विकेटको नोक्सानीमा पूरा गर्यो ।
कप्तान के एल राहुलले ४९ बलमा नटआउट रहँदै ६१ रन बनाए । त्यस्तै गेलले गेलले ४५ बलमा ५३ रन बनाए । गेल यो सिजन पहिलो पटक पन्जाबको प्लेइङ सेटमा परेका हुन् । उनले पहिलो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन् । यस्तै मायांक अग्रवालले ४५ रनको योगदान दिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले ६ विकेटको नोक्सानीमा १ सय ७१ रन बनाएको थियो । कप्तान विराट कोहलीले ४८, शिबम दुबेले २३ तथा आरोन फिन्चले २० रन बनाए । पन्जाबका मोहमद शामी र मुरुगान आश्विनले २–२ विकेट लिए ।
अंक तालिका
जितसँगै पन्जाबले ८ खेलमा ४ अंक जोडेको छ । पन्जाब पुछारमा रहेको छ ।
पन्जाबले यस सिजन लगातार दोस्रो खेलमा बैंगलोरलाई हराएको हो । यसअघिको पहिलो भेटमा पनि पन्जाबले बैंगलोरलाई ९७ रनले हराएको थियो । यो जीतसंगै अंक तालिकाको पुछारमा रहेको पन्जाबको पनि प्लेअपमा खेल्ने आशा जिवित रहेको छ ।
बैंगलोरको यो तेस्रो हार हो । बैंगलोरले ८ खेलमा १० अंक जोडेको छ । बैंगलोर तालिकाको तेस्रो स्थानमा रहेको छ ।
अंक तालिकामा ८ खेलबाट १२ अंकसहित दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । मुम्बई इन्डियन्स ७ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ ।
कोलकाता नाइट राइडर्स ७ खेलबाट ८ अंकसहित चौथो स्थानमा छ ।
सनराइजर्स हैदराबाद, चेन्नई सुपर किंगस र राजस्थान रोयल्स ८ खेलबाट ६ अंकसहित क्रमश पाँचौंदेखि सातौं स्थानमा छन् ।
शुक्रबारको खेल
शुक्रबार मुम्बई र कोलकाता भिड्दै छन् । खेल जित्दा मुम्बई पुनः शीर्ष स्थानमा उक्लने छ भने हारले कोलकाताले मुम्बई र बैंगलोरसँग अंक बराबरी गर्न सक्नेछ ।