बिराटनगर । कोशी प्रदेशका महिला सांसदहरुले महिलालाई पद दिए पनि काम गर्न नदिने अवस्था रहेको बताउनु भएको छ । राष्ट्रिय महिला आयोगले केही दिन अघि बिराटनगरमा आयोजना गरेको नीतिगत तहमा महिलाको पहुँच स्थापित गराउने बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाश प्रदेश सांसद महिलाहरुले महिला कै क्षेत्रमा पर्ने कामको कार्यन्वयन गर्न पनि पूरुषकै आदेश पर्खिनु पर्ने अवस्था रहेको बताएका थिए ।
सांसद तथा पुर्व मन्त्री निर्मला तावाले कार्यक्रममा बोल्दै भन्नुभयो, ‘महिलालई पद दिईन्छ, मन्त्री बनाइन्छ तर काम गर्न दिइदैंन ।’ त्यस्तै पुर्व मन्त्री समेत रहनु भएकी सांसद खिनु ल्वाङवा लिम्बुले महिलाले चुनाव नै जित्दैनन भन्ने धारणा अहिले पनि रहेको बताउनु भयो । वहाँले नागरिकता ऐन संसोधन गरेर भए पनि महिलाको नामबाट सजिलै नागरिकता दिने व्यवस्था तत्काल बनाउनु पर्ने बताउनु भयो । सोलुखुम्बुकी सांसद डोल्मा तामाङले महिलामा पनि पितृसत्तात्मक सोचले थिचिएको अवस्था रहेको बताउनु भयो । वहाँले भन्नुभयो, ‘महिलाले नै छोरा र छोरीलाई गर्ने व्यवहार नै फरक छ ।’
अन्तरक्रिया कार्यक्रममा सांसदहरु गितादेवि रेग्मी, कमला थापा मगर, मिना श्रेष्ठ, विद्या चाम्लिङ, निरा खनाल, शोभा चेम्जोङ, बन्दना अधिकारी र गितारानी महतोले आ आफ्ना धारणा राख्नु भएको थियो ।
महिला आयोगकी सदस्य कृष्ण कुमारी खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला सांसदहरुले उठाएको बिषयमा प्रदेश सरकारले गम्भिरता पुर्वक लिने बताउनु भयो ।
कार्यक्रमकी अध्यक्ष खतिवडाले महिलाको अवस्थाको बारेमा बोल्दै महिलाले राजनितिक दलभन्दा माथी उठेर महिला मात्रै भएर दृष्टिकोण बनाउनु पर्ने बताउनु भयो । वहाँले भन्नुभयो, ‘महिलाले अब राजनितिक दल भन्दा पहिला महिला भन्ने सोच हुनु पर्छ ।’
कार्यक्रममा कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर बिष्टले महिलाहरु सांसदलाई प्रदेश सभाले जहिले पनि पूरुष सांसद सरह नै व्यवहार गरेको बताउनु भयो । वहाँले कानून संसोधनका लागि सांसदहरुले सक्रियता देखाउनु पर्ने समेत बताउनु भयो ।
त्यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश सभाकी उपसभामुख सृजना दनुवारले समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदहरुबीचको विभेदका बारेमा महिला सांसदहरुले पटक पटक कुरा उठाइरहेको बताउनु भयो । वहाँले महिलामैत्री कानून निर्माणमा सबै जुट्नु पर्नेमा जोड दिनुभयो । ‘महिला भएकै कारणले भन्दा पनि नेपालको संविधानमा भएको व्यवस्था अनुसार नै महिलाहरुको प्रतिनिधित्व भएको हो,’ उपसभामुख दनुवारले भन्नुभयो, ‘तर महिलालाई दिएको भन्ने भाष्य निर्माण गरिएको छ जुन गलत छ ।’
कार्यक्रममा कोशी प्रदेशकी सामाजिक विकास मन्त्रालयकी महिला विकास महाशाखाकी प्रमुख दुर्गा बरालले नीतिगत तहमा महिलाको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रा डा चन्दकान्त उपाध्याय र पत्रकार ज्ञानेन्द्र निरौलाले कार्यपत्र र अन्तरक्रियामा उठेका बिषयमा टिप्पणी गर्नु भएको थियो ।
प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सांसदहरुकै सक्रियताले प्रदेशसभाले आवश्यक कानून निर्माण र संसोधन गर्ने भएकाले नीतिगत तहमा महिलाको प्रतिनिधित्वका लागि प्रदेश सभा सदस्यहरुले समेत सक्रियता आवश्यक पर्ने बताउनु भयो । कार्यक्रम महिला आयोगकी अधिकृत चन्द्रा थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।