नेपालको विश्वकप यात्रा आजदेखि सूरु हुँदैछ । अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा संचालन भइरहेको टी २० विश्वकप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपाली समयानुसार आज जेठ २२ गते राति ९ः१५ बजे नेपालले नेदरल्यान्डस को सामना गर्दैछ । दस बर्ष पछि यस प्रतियोगितामा पुनरागमन गरेको नेपाल समूह डि मा रहेको छ । यस समुहमा नेपाल र नेदरल्यान्डस बाहेक दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश पनि रहेकाछन ।
समूह डि अन्तर्गतको पहिलो खेलमा गए राति श्रीलंका विरुद्ध दक्षिण अफ्रिका जित निकाल्दै तालिकमा दुई अंक सहित शिर्ष स्थानमा बसेको छ । आज राति अमेरिकाको डलासमा रहेको ग्रेण्ड पेरिया स्टेडियममा हुने यस समुहको दोस्रो खेलमा आइसिसिको टि ट्वान्टी विश्व वरियतामा सत्रौं स्थानमा रहेको नेपालले पन्ध्रौं स्थानमा रहेको नेदरल्यान्डस को सामना गर्न लागेको हो ।
रोहित पौडेलको कप्तानीमा मैदान उत्रने नेपाली टोलिमा रहेका सोमपाल कामी बाहेक सबै युवा खेलाडीहरुका लागि यो विश्वकपको पहिलो अनुभव हुनेछ । स्मरण रहोस सोमपाल सन २०१४ को विश्वकपमा नेपाली टोलिबाट बंगलादेशमा खेलिसकेका खेलाडी हुन । नेदरल्यान्डस विरुद्ध नेपालको टि ट्वान्टिको विगत हेर्दा खेलिएका १२ खेलमा ५ मा जित, ६ मा हार र एकमा बराबर रहेको छ । यसरी हेर्ने हो भने विपक्षी टिम नेपाल भन्दा केही माथि देखिन्छ । तर पनि नेपाली टिममा रहेका युवा खेलाडीहरुको मनोवल र अमेरिकामा रहेका नेपालीहरुको मैदानमा उपस्थितिले नेदरल्यान्डसलाई गाह्रो हुनेछ ।
विकेट किपर व्याट्सम्यान स्कट एडवार्डको कप्तानीमा मैदान उत्रने तयारीमा रहेको नेदरल्यान्डसका व्याट्सम्यान म्याक्स ओ डाउड, अलराउण्डर विक्रमजित सिंह, अफ स्पिनर आर्यन दत्त, फास्ट बलर रायन क्लिन नेपालका लागि टाउको दुखाइ हुनसक्छन ।
नेदरल्यान्डस विरुद्ध राम्रो रेकर्ड रहेका नेपालका ओपनर द्वय कुशल भुर्तेल र आसिफ शेखको ब्याट पहिलो पावर प्लेसम्म टिकेको खण्डमा नेपाललाई सहज हुनेछ । विगत हेर्ने हो भने नेदरल्यान्डस विरुद्ध ६ खेल खेलेका कुशलले जम्मा २३३ रन बनाएका छन । तेती नै संख्यामा खेल खेलेका आसिफले १५९ रन बनाएका छन । त्यस्तै अर्का अल राउण्डर दिपेन्द्र सिंह ऐरीले पनि ८ खेल खेल्दा १९४ रन बनाएका छन । त्यसो त कप्तान पौडेल पनि हाल राम्रो फर्ममा हुनु नेपालका लागि खुसिको कुरा हो । अनुभवि फास्ट बलर सोमपाल कामी नेपालका लागि महत्त्वपूर्ण खेलाडि हुन ।
विपक्षी विरुद्ध यस अघि १२ खेलमा १८ विकेट लिईसकेका करण के सिको प्रदर्शनले नेदरल्यान्डस विरुद्धको नतिजा निर्भर हुनेमा खेलप्रेमिहरु अहिले अड्कल काटिरहेकाछन । नेदरल्यान्डस विरुद्ध राम्रो रेकर्ड रहेका सन्दिप लामिछानेको कमि महशुस हुन नदिन नेपालका स्पिनरहरु ललित राजवंशी, सागर ढकालका साथै हालको विश्वकपमा खेलिरहेका खेलाडीहरु मध्ये सबैभन्दा कान्छा खेलाडि गुलसन झाको अलराउण्ड प्रदर्शनले नेपालका लागि ठुलो महत्व राख्ने छ । त्यसो त सधैं ब्याटिङ लाईनमा आलोचना खेपिरहेको नेपालको लागि कुशल मल्लको अलराउण्ड प्रदर्शन, अविनाश बोहोरा, करण केसि र प्रतिस जिसिको पावर हिटिङले पनि आजको खेलमा ठुलो महत्व राख्नेछ ।
यदि नेपाल पहिले ब्याटिङ गर्दा ओपनरले राम्रो शुरुवात गराउन सके त्यस पछि आउने मध्य क्रमका ब्याट्सम्यानहरु कप्तान रोहित पौडेल, अनिल शाह, सन्दिप जोराले पनि टिमलाई ठुलो स्कोर तर्फ लानेमा नेपाली खेलप्रेमिहरु ढुक्क छन । यदि नेपालले पहिले बलिङ गर्ने हो भने विपक्षि टिमलाई सानो स्कोरमा समेट्नका लागि पावर प्लेमा गुलशन झा, करण केसी र सोमपाल कामीले राम्रो प्रदर्शन गरेमा त्यस पछिका बलरहरुले डच ब्याट्सम्यानहरुलाई कसेर राख्नसक्ने क्षमता राख्छन ।
डेथ ओभरमा सधै रन कन्ट्रोल गर्न समस्यामा रहेको नेपाली टोलिका लागि डेथ ओभर स्पेसलिस्ट अविनाश बोहोराको प्रदर्शनमा सुधार आउनु आजको खेलमा जरुरी छ । नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरी अभ्यासका क्रममा चोट ग्रस्त हुनु नेपालको लागि दुखद पक्ष हो । त्यसैगरी आज कस्कस्लाई मैदान उतार्ने भन्ने कुरा भरे खेल हुनुभन्दा केही समय अगाडि कप्तान पौडेल र प्रशिक्षक मोन्टि देशाइको निर्णयमा भर पर्नेछ । जे भए पनि आज रातिको खेल नेपाली क्रिकेटप्रेमिहरुका लागि ठुलो प्रतिक्षाको विषय भएको छ ।