झापा, जेठ २० । कृषि, पशुपंक्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानहरुले चाँडै भुक्तानी पाउने व्यवस्था मिलाइने बताउनु भएको छ । २४ औं विश्व दूध दिवसको अवसरमा झापाको मेचीनगर १४ स्थीत एनएमसी एग्रो फार्ममा शनिवार आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री साहले सरकारी र निजी डेरी उद्योगहरुले किसानहरुको भुक्तानी नदिएको गुनासो आइरहेकाले त्यसलाई तत्काल समाधान गर्ने बताउनु भयो ।
“दुग्ध उत्पादक किसानहरुले चाँडोभन्दा चाँडो भुक्तानी पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौं,” उहाँले भन्नुभयो–“मैले थुप्रै व्यावसायिक किसानको गाईगोठ र डेरी उद्योगहरु अवलोकन गरेको छु । किसानहरुले दुधको भुक्तानी नपाएको गुनासो सुनाउनु भएको छ । जुन तरिकाले भए पनि भुक्तानी हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।”
कोशी प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राईले दुग्ध पदार्थमा आधारित उद्योग सञ्चालन र बस्तु प्रबर्धनमा प्रदेश सरकारले उल्लेखनीय अनुदान दिदै आएको बताउनुभयो । किसानहरुलाई दुध उत्पादनका आधारमा र व्यावसायिक कृषकहरुलाई गोठ निर्माण र आहार उत्पादनमा अनुदान दिने गरिएको उहाँले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा बोल्दै दुग्ध विकास संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले चरणबद्ध रुपमा किसानको दुधको भुक्तानी गर्ने व्यवस्था मिलाइएको जनाउँदै दुई दिनभित्र नयाँ भुक्तानी रकम आइपुग्ने जानकारी दिनुभयो । उहाँले दुध उत्पादक किसान र व्यवसायीहरुका समस्याको समाधानका लागि संस्थानले पहल गर्ने जनाउनुभयो । उहाँले संस्थान र निजी क्षेत्रका गोदामहरु दुधजन्य उत्पादनको भण्डारणले भरिएको हुँदा यसको विक्री वितरणको चाँडो व्यवस्था नभए आउँदो आर्थिक वर्षको सुरुदेखि नै नयाँ उत्पादन राख्ने ठाउँ नहुने बताउनुभयो ।
कोशी प्रदेश डेरी उद्योग समितिका संयोजक रामचन्द्र उप्रेतीले एक दशकमा कोशी प्रदेशमा ११ वटा ठूला डेरी उद्योग सञ्चालनमा आएको उल्लेख गर्दै प्रदेश सरकारकै २० करोड अनुदानमा निजी क्षेत्रका उद्योगीहरुले ३० करोडको लागतमा पाउडर उद्योग स्थापना गरेको बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट डेरी उद्योगको रुपमा एनएमसी डेरी उद्योग, उत्कृष्ट सहकारीको रुपमा चितवनको पिठुवा दुग्ध उत्पादक सहकारी र सुनसरीको कामधेनु दुग्ध विकास सहकारी संस्था, उत्कृष्ट कृषकको रुपमा झापाका राजकुमार तामाङ र मोरङका विज्ञान बस्नेतलाई सम्मानित गरिएको थियो ।
आर्थिक अभियान पत्रिकाका समाचारदाता प्रशान्त खड्कालाई उत्कृष्ट सञ्चारकर्मीको रुपमा सोही अवसरमा सम्मानित गरिएको थियो । सम्मानित सबैलाई मन्त्री साहले खादा ओढाएर कदर पत्र प्रदान गर्नु भएको थियो ।