मेचीनगर, जेठ १३ । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले मुर्तिकार केडी देवानप्रति भएको दुव्र्यवहारको छानविन गर्ने बताउनु भएको छ । ‘घट्नाप्रति हामी चिन्तित छौं,’ नगरप्रमुख बुढाथोकीले भन्नुभयो, ‘मुर्तिकार देवानसंग जोडिएको घट्नाको बोर्ड बैठकबाटै समिति बनाएर मसिनो गरी छानविन गर्छौं ।’
देवानले काम गरेको बिल भुक्तानी हुन किन लामो समय लाग्यो त्यो बिषयमा समेत छानविन गरिने नगरप्रमुख बुढाथोकीले सेतोपत्रलाई बताउनु भयो । ‘एउटा कलाकारले काम गरिसकेर सामग्री समेत नगरपालिकालाई हस्तान्तरण गरिसके पछि पनि किन भुक्तानीमा समस्या भयो त्यसको पनि छानविन हुन्छ,’ नगरप्रमुख बुढाथोकीले भन्नुभयो ।
नगरप्रमुख बुढाथोकीले बाहिर हल्ला भए जस्तो आफ्नै कार्यकक्षमा देवानले कुटाई नखाएको बताउनु भयो । ‘मेरो कोठामा प्रवेश गर्दा देवान जी आक्रोशित हुनुहुन्थ्यो, मैले अलिक शान्त हुनुहोस भनेर सम्झाएको हुँ,’ वहाँले भन्नुभयो, ‘तर मैरै कार्यकक्षमा कुटपिट भएको छैन, मेरो कोठाबाट बाहिर निस्किए पछि के भएको हो थाहा भएन ।’
दुई दिन अघि मुर्तिकार केडी देवान आफुले निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरिसकेको हात्तीको टाउकोको मुर्तिको भुक्तानी लिन जाँदा नगरपालिका भित्रै केही व्यक्तिले देवानमाथी हातपात गरेका थिए । ‘५० पटक जाँदा पनि भुक्तानी भएन,’ बिएण्डसी अस्पतालमा उपचाररत देवानले पत्रकारसंग भन्नुभयो, ‘त्यो दिन पनि पैसा दिन्छु भनेर बोलाएर मेयरकै कार्यकक्षमा मलाई कुटियो ।’
मेचीनगर वडा नं. ४ मा निर्माणाधिन प्रकृति पार्कमा राख्ने गरी २० वटा हात्तिको टाउको मुर्तिकार देवानले निर्माण गर्नु भएको थियो । नगरपालिकाले ३ लाख ३० हजार मुल्यमा निर्माण गर्ने गरी देवानसंग सम्झौता समेत गरेको छ तर काम सकेको लामो समयमा समेत नगरपालिकाले भुक्तानी नदिएको देवानले बताउनु भएको छ ।