मेचीनगर, जेठ १३ । आगामी जेठ २६ गते हुने काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनका लागि उमेद्वारहरुले मनोनयन दर्ता गराएका छन । आज संस्था परिसरमा पुगेर तीन वटा प्यानलका उमेद्वारहरुले मनोनयन दर्ता गराएका हुन । लोकतान्त्रीक साझा प्यानल, प्रगतिशील समाजवादी प्यानल र काँकरभिट्टा खानेपानी उपभोक्ता स्वतन्त्र उमेद्वार समुहका उमेद्वारहरुले मनोनयन दर्ता गराएका हुन ।
खानेपानी संस्था निर्वाचन समितिका अनुसार अध्यक्षमा तीन जनाको उमेद्वारी परेको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय लोकतान्त्रीक मञ्ज र नेकपा एसको संमर्थन रहेको प्यानलका रुपमा रहेको लोकतान्त्रीक प्यानलबाट अध्यक्षमा काँग्रेसका रोहित कुमार बुढाथोकी, एमाले र जसपाको समर्थन रहेको प्रगतिशिल समाजवादी प्यानलबाट एमालेका सन्तोष आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन रहेको स्वतन्त्र उम्मेद्वारहरुको प्यानलबाट सुदर्शन खड्काको उमेद्वारी परेको हो ।
यसैगरी उपाध्यक्षमा रास्वपाका कृष्ण सुवेदी, एमालेका गोबिन्द गिरी र माओवादीका राजकुमार दाहालको उमेद्वारी परेको हो । सचिवमा जसपाका दिलिपजंग सुब्बा, रास्वपाका नरेन्द्र सिवाकोटी र काँग्रेसका विशाल तामाङको उम्मेद्वारी दर्ता भएको छ भने कोषाध्यक्षमा एमालेकी बिमला तामाङ, नेकपा एसकी बिमला देवकोटा र रास्वपाकी सुधादेवी खड्काको उमेद्वारी दर्ता भएको हो ।
अन्य अधिकांश सदस्य पदमा तीन जनाको उमेद्वारी दर्ता भएको छ । लेखा समिति महिला सदस्य पदमा भने दुई जनाको मात्रै उमेद्वारी दर्ता भएको छ । यससँगै खानेपानी संस्थाको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित छ ।
उम्मेद्वारी दर्ता गरेसंगै तीनवटै प्यानलका अध्यक्ष सहितका उम्मेद्वारहरुले आफुहरुले चुनाव जित्ने दाबी समेत गरेका छन । सबै उम्मेद्वार शुद्ध खानेपानी खुवाउने, धारा जडान गर्न बाँकी रहेका क्षेत्रमा धारा जडान गर्ने प्रतिबद्धता गरेका छन ।