मेचीनगर, जेठ ८ । झापाको मेचीनगरका दुई मुख्य सडक निर्माणको प्रक्रिया सूरु भएको छ । मेचीनगर नगरपालिकाको गौरवको योजनाको रूपमा रहेको काकरभिट्टादेखि बाहुनडाँगी बजारसम्मको शहिद विश्वनाथ मार्ग र धुलाबारी मोडदेखि उत्तर तर्फको सहिद विरेन मार्ग ड्रेनसहित सुविधा सम्पन्न कालोपत्रे बन्ने भएको हो ।
नगरपालिकाले सभाहलमा सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत यी दुई आयोजनाको निर्माण कम्पनीसंग सम्झौता गरेको छ । सम्झौता अनुसार अब निर्माण कम्पनीले सहिद विरेन र विश्वनाथ मार्ग २०८२ असार मसान्तसम्ममा सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने छ ।
विश्वबैंकको लगानीमा बन्ने सहिद विश्वनाथ मार्ग कन्काई इन्टरनेशनल विल्डर्स कन्काई झापाले ३० करोड ८७ लाखको लागतमा ठेक्का पारेर निर्माण गर्न सम्झौता गरेको छ । यस सडकले काँकरभिट्टाको बर्मेली टोलदेखि बाहुण्डाँगीसम्मको ८.३८ किलोमिटर सडक समेटिने छ ।
त्यस्तै सहिद विरेन मार्ग एनएनटी डेभ्लोपर पटना भारतले २७ करोड २१ लाखमा ठेक्का पारेको छ । धुलाबारी मोडदेखि बजारसिरान हुँदै थोप्लेविरामसम्म ५.४७ किलोमिटर सडक खण्ड कालोपत्रे हुने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको विकाससंगै थुप्रै कोणबाट महत्त्वको रूपमा लिइएको सहिद विरेन र सहिद विश्वनाथ मार्ग निर्माण सम्पन्न गरेर सञ्चालन गर्न आफुहरू सक्रिय रहेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताउनु भयो ।
सम्झौता हस्ताक्षर पश्चात् कार्यक्रममा बोल्दै मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले नगरपालिकालाई विकासीत गर्न आफुहरू निरन्तर लागि रहेको बताउनु भयो । नगरको समग्र विकासमा जनप्रतिनिधि र कर्मचारी एक भएर अगाडि बढिरहेको वहाँको भनाई थियो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सडक बिस्तार, कालोपत्रे लगायत समग्र नगरको विकासमा जनप्रतिनिधिसंगै आफुहरू पनि गम्भीर भएर लागिपरेको बताउनुभयो । मेचीनगरका सामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्तीले सञ्चालन गरेको निर्माण सम्झौता कार्यक्रममा निर्माण कम्पनिका प्रतिनिधि, मेचीनगर संचार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लागाई, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, अग्रज पत्रकार मोहन काजीलगायका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।