काँकरभिट्टा,जेठ ६ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आगामी जेठ २६ गते हुने निर्वाचनमा ३ वटा प्यानल बिच प्रतिस्पर्धा हुने भएको छ । यसअघिनै २ वटा प्यानल घोषणा भइसकेकोमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा स्वतन्त्र खानेपानी उपभोक्ता समुहको तर्फबाट प्यानल घोषणा भएको हो ।
यो प्यानलबाट रास्वपाका मेचीनगर–६ का वडा अध्यक्ष समेत रहनुभएका सुदर्शन खड्का (माइला),अध्यक्षको उम्मेदवार बन्नुभएको छ । काँकरभिट्टा स्थित पार्टीको वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त समुहबाट उपाध्यक्षमा कृष्ण सुवेदी (किरण), सचिवमा नरेन्द्र शिवाकोटी र कोषाध्यक्षमा सुधादेवि खड्कालाई उम्मेदवार बनाइएको जानकारी दिइएको छ । त्यस्तै सदस्यहरूमा दिपेश तिवारी, राजकुमार गिरी, सुनिता सहनी र लक्ष्मी कटुवाल थापा उम्मेद्वार बन्नुभएको छ ।
यसैगरी लेखा समिति संयोजकमा भेषराज ओली र सदस्यमा विनोद बानियाँलाई उम्मेदवार बनाइएको छ । यो समुहले ३ जनाको लेखा समितिमा २ जना मात्र उठाएको रास्वपाका मेचीनगर अध्यक्ष कमल गौतमले जानकारी दिनुभयो ।
काँकरभिट्टा खानेपानीको निर्वाचनका लागि यसअघि रोहित बुढाथोकी अध्यक्षको उम्मेदवार रहेको लोकतान्त्रीक साझा प्यानल तथा सन्तोष आर्चाय अध्यक्षको उम्मेदवार रहेको प्रगतिशील समाजवादी साझा प्यानलबाट उम्मेदवारी घोषणा भइसकेका छन् ।
लोकतान्त्रीक प्यानलमा नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, राप्रपा र संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चले गठबन्धन गरेका छन् भने प्रगतिशील समाजवादी प्यानलमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले सहकार्य गरेका छन् ।