झापा,जेठ ६ । झापाका दुई ठूला नदी निन्दा र बिरिङमा बाढीको पुवै सुचना दिने प्रणाली जडान भएको छ । जल तथा मौसम विज्ञान विभागले बाढी आउनु पहिले जानकारी दिने बाढी मापन तथा पूर्व सूचना प्रणालीको उपकरण पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरेको हो ।
बिरिङका लागि बुधबारेमा र निन्दाका लागि बाहुनडाँगीमा वर्षामापन उपकरण राखिएको छ । ती उपकरणको सहायताले नदीको मुहानमा कति वर्षा भइरहेको छ भन्ने जानकारी सङ्कलन हुनेछ । नदीको पानीको वहाब र वर्षाको मात्रा जिल्ला प्रशासन कार्यालय झापामा राखिएको सूचना केन्द्रबाट हेर्न सकिने छ ।
विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार प्रणालीमा जडित स्वचालित उपकरणले वर्षा सुरु भएपछि १० मिनेटको अन्तरमा नदीमा बगिरहेको जलस्तरको बारेमा काठमाडौँ र झापास्थित सूचना केन्द्रमा जानकारी पठाउने छ । त्यही जानकारीको विश्लेषण गरेर बिरिङ र निन्दा नदीको आसपास तटीय क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दालाई नदीको जलसतह बढेको जानकारी एसएमएसबाट दिइने छ । नेपाल टेलिकमको सिम प्रयोग गर्ने नदी तटीय क्षेत्रका बासिन्दालाईे मोबाइलमा सन्देश पठाइने आयोजनाले जनाएको छ ।
यसो भएमा बाढीबाट हुने जनधनको क्षति न्यूनीकरणमा ठूलो सघाउ पुग्ने र जोखिममा रहेका समुदाय सुरक्षित हुने प्रवक्ता पोखरेलले बताउनुभयो । नदी जोखिम न्यूनीकरण आयोजनामार्फत पूर्व–पश्चिम राजमार्गमा पर्ने नदीका पुलमाथि बाढी मापन उपकरण जडान धमाधम भइरहेको छ । विभागले राजमार्गका मावा, रतुवा नदीमा समेत यो प्रणाली जडान गरिरहेको जनाएको छ ।
झापामा कनकाई, बिरिङ, निन्दा, मेची, रतुवा र मावा नदीको बाढीले बर्सेनी ठूलो क्षति पु¥याउँदै आएको छ । यसअघि झापाको कनकाई नदीमा मात्र यस्तो बाढी मापन तथा सूचना प्रणाली सञ्चालनमा थियो ।
कनकाईमा जडान गरिएको उपकरणले दिने जानकारीका आधारमा नदी आसपासका बासिन्दालाई सतर्कताका लागि मोबाइल एसएमएस सन्देश पठाउने गरिएको छ ।