भेडेटार, जेठ २ । नेपाल प्रेस युनियन कोशी प्रदेशले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनको तयारीका लागि कार्यदल गठन गरेको छ । प्रेस युनियन कोशी प्रदेशको सचिवालयको आज धनकुटाको भेडेटारमा सम्पन्न बैठकले अध्यक्ष मिनकुमार नवोदितको संयोजकत्वमा उपाध्यक्ष ज्ञानेन्द्र निरौला, महासचिव सञ्जीव वाग्ले र सचिव विनय बाराकोटी रहेको कार्यदल गठन गरेको महासचिव वाग्लेले जानकारी दिनुभयो । कार्यदलले पत्रकार महासंघको जेठ २६ गते हुने निर्वाचनका लागि प्रदेश तथा जिल्ला तहमा समन्वय र सहजीकरण गर्नुका साथै जिल्ला शाखालाई सक्रिय र प्रभावकारी बनाउने भूमिका खेल्ने महासचिव वाग्लेले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले कोशी प्रदेशका प्रेस युनियनकर्मीको सामाजिक सुरक्षा तथा स्वास्थ्य उपचारका लागि एक करोडको अक्षयकोष स्थापना गर्ने समेत निर्णय गरेको अध्यक्ष नवोदितले बताउनु भयो । युनियनको ३३ औं स्थापना दिवसको अवसर पारेर यही जेठ १० गते विराटनगरमा हुने विशेष समारोहमा अक्षयकोषको औपचारिक घोषणा गरिने अध्यक्ष नवोदितले बताउनुभयो । वहाँका अनुसार अक्षयकोषमा समितिका पदाधिकारी र सदस्यले निश्चित रकम जम्मा गरेर शुभारम्भ गरिनेछ । यससँगै देश तथा विदेशमा रहने युनियनमा आबद्ध पत्रकार, समाजसेवी, उद्योगी, व्यवसायी सबैलाई स्वेच्छिक रकम जम्मा गर्नका लागि आग्रह गरिनेछ ।
बैठकले प्रेस युनियनको स्थापना दिवसको अवसर पारेर प्रदेश भेला गर्ने समेत निर्णय गरेको छ । जेठ १० गते बिराटनगरमा प्रदेश भेला गर्ने र उक्त भेलामा पत्रकार महासंघको निर्वाचन केन्द्रीत छलफल गरिने अध्यक्ष नवोदितले बताउनु भयो । भेलामा प्रेस युनियन कोशी प्रदेशका कार्यसमितिका सदस्यहरु, कोशी प्रदेशका सबै जिल्लाका प्रेस युनियनका अध्यक्ष, पत्रकार महासंघमा युनियनका तर्फबाट प्रतिनिधित्व गर्ने अध्यक्ष, प्रदेशमा रहेका युनियनका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहने बताइएको छ ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा यही जेठ १० गते बिहीबार बिहान ‘सक्रिय पत्रकारिताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि नियमित आहारबिहार’ भन्ने नाराका साथ सञ्चारकर्मीहरुबीच खुल्ला दौड प्रतियोगिता, अग्रज पत्रकार सम्मान, ‘प्रदेशको स्थायित्व र विकासका लागि सञ्चार क्षेत्रको भूमिका’ विषयक विचारगोष्ठी समेत गरिने सचिव बिनय बाराकोटीले बताउनु भयो ।