काँकरभिट्टा,जेठ २ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि लोकतान्त्रिक प्रगतिशिल साझा प्यानलबाट उम्मेदवार घोषणा गरिएको छ ।
आगामी जेठ २६ गते हुने निर्वाचनका लागि पाँच दलले साझा प्यानल बनाएर उम्मेदवारहरुको नाम घोषणा गरेका हुन् । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन गर्दै आज काँकरभिट्टा स्थित मेची सामुदायिक सभाहलमा घोषणा सभाको आयोजना गरेर उम्मेदवारहरुको नाम सार्वजनिक गरेका हुन् ।
जसअनुसार नेपाली कांग्रेसबाट अध्यक्षमा रोहितकुमार बुढाथोकी र सचिवमा विशाल तामाङलाई उम्मेदवार बनाइएको छ । उपाध्यक्षमा माओवादी केन्द्रका राजकुमार दाहाल (राजु) उम्मेदवार बन्नुभएको छ भने कोषाध्यक्षमा नेकपा एकीकृत समाजवादीकि विमला देवकोटा उम्मेदवार बन्नुभएको छ । सदस्यहरुमा कांग्रेसबाट सीतादेवी कार्की र केशरजंग भट्टराई, माओवादीबाट पवित्रा तिवारी,राप्रपाबाट इन्द्र प्रधान तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट पूर्णबहादुर योङहाङ उम्मेदवार बन्नुभएको छ ।
यसैगरी लेखा समिति संयोजक भने राप्रपाले पाएको छ । राप्रपाबाट किशोर भण्डारी लेखा समिति संयोजकको उम्मेदवार बन्नुभएको छ । समितिको सदस्यमा एकीकृत समाजवादीका विकास राउतको नाम घोषणा गरिएको छ । कांग्रेसको भागबाट एकजना सदस्य थप्न बाँकी रहेको जनाइएको छ । शुद्व र २४ सै घण्टा पानी दिने उदेश्यले पाँच वटा दलको गठबन्धनका साझा उम्मेदवार चुनावी मैदानमा उतारेको दाबी प्यानलले गरेको छ ।
उम्मेदवार घोषणा कार्यक्रममा कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, एकीकृत समाजवादीका झापा अध्यक्ष वेदराज रेग्मी, माओवादी केन्द्रका क्षेत्रीय संयोजक माधव अर्याल, कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, राप्रपा जिल्ला सदस्य शारद पराजुली, नगर सचिव विशालकृष्ण बाँस्तोला, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नगर अध्यक्ष सुकविर लिम्बु लगायतको उपस्थिती रहेको थियो ।
लोकतान्त्रिक प्रगतिशिल साझा प्यानलका संयोजक एवम् कांग्रेस मेचीनगरका सभापति सुदय पनेरुको अध्यक्षतामा भएको घोषणा सभामा माओवादी केन्द्रका जिल्ला सदस्य मेघराज खड्काले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कांग्रेस नगर सचिव मुकेश लिम्बुले गर्नुभएको थियो । काँकरभिट्टा खानेपानीको निर्वाचनमा ८ हजार भन्दा बढी उपभोक्ताले मतदान गर्नेछन् ।