मेचीनगर,बैशाख २४ । झापाको मेचीनगर नगरपालिकामा दुइ महिनाको समयमा ३५ जना क्षयरोगका बिरामी भेटिएका छन् । यो संगै मेचीनगरमा चैत्र मसान्त सम्ममा क्षय रोगीको संख्या १ सय ४८ पुगेको छ ।
मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउने अभियान अन्र्तगत तिव्र पारिएको खोजीका क्रममा दुइ महिनामा ३५ जना नयाँ विरामी फेला परेका हुन् । मेचीनगरमा २०८० साउनदेखि माघ मसान्तसम्म ११३ जना क्षयरोगका बिरामी फेला परेकोमा पछिल्लो दुइ महिनामा थप ३५ जाना बिरामी भेटिएको नगर स्वास्थ्य शाखाका क्षयरोग फोकल पर्सन सदिक्षा भट्टराईले जानकारी दिनुभयो ।
नगरका प्राय सबै वडाहरुमा क्षयरोगी भेटिएको छ । गत दुइ महिनाको अवधीमा सबै भन्दा धेरै वडा नं.६ मा ७ जना र वडा नं. १० मा ६ जना क्षयरोगीलाई नगरको स्वास्थ्य शाखाको टिमले फेला पारेको छ । त्यस्तै वडा नं.४ मा ५ जना, वडा नं. २ मा ३ जना,वडा नं. ९ मा ३ जना ,वडा नं. ३ मा १ जना,वडा नं. ५ मा २ जाना,वडा नं. ८ मा २ जना,वडा नं. ११ मा २ जना,वडा नं. १३ मा २ जाना तथा वडा नं. १४ र १५ मा १ / १ जाना क्षयरोगी भेटिएका छन् । वडा नं. ७, वडा नं. १२ तथा वडा नं. १ मा भने नयाँ रोगी फेला परेका छैनन् ।
नगरको स्वास्थ्य शाखाको प्राविधिकहरुले क्षयरोगी खोजी रहेको बेला भएकाले रोगीको संख्या बढ्ने क्रममा रहेको र भेटिएका रोगीको उपचार समेत गर्ने काम तत्कालै सुरु भइरहेको नगर स्वास्थ्य शाखा प्रमुख सबिता सापकोटाले बताउनु भयो । प्रमुख सापकोटाका अनुसार क्षयरोगका बिरामीको परीक्षणदेखि उपचारसम्म सरकारले निशुल्क गर्ने व्यवस्था रहेको छ । मेचीनगरका क्षयरोगीहरुका लागि छातीको एक्सरे समेत नगरपालिकाले निशुल्क गर्ने व्यवस्था मिलाएको सापकोटाले बताउनु भयो ।
गत आर्थिक बर्ष २०७९÷०८० मा नगरमा २०५ जना क्षयरोगी फेला परेकामध्ये जटिल प्रकृतिको क्षयरोगी ७ जना भेटिएको सापकोटाले बताउनु भयो । चिकित्सकको नियमित सम्पर्कमा बसेर ६ महिना औषधी सेवन गर्दा क्षयरोग पूर्ण रुपमा निको हुने स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताउनु भयो ।