काकरभिट्टा, वैशाख १८ । झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले सांसदको रुपमा जुनसुकै काम गर्दा राजनितिक दलको आस्थाका आधारमा विभेद नगर्ने बताउनु भएको छ । काकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २८ औं साधारण सभाको उदघाटन सत्रमा बोल्दै सांसद शर्माले भन्नुभयो, ‘सांसद भएर काम गर्दा आफ्नो क्षेत्रको आम नागरिकको प्रतिनिधिको रुपमा काम गर्छु, त्यहा राजनितिक आस्थाको कुरा हेर्दिन ।’
नेपाली काँग्रेसका महामन्त्री समेत रहनु भएका शर्माले सांसद र काँग्रेसको महामन्त्रीको फरक फरक जिम्मेवारी रहेकाले त्यसै अनुसार आफुले काम गरिरहेको बताउनु भयो । ‘क्षेत्रको विकासका लागि सिंहदरबारको ढोका ढकढक्याउन तपाईहरुले मलाई पठाउनु भएको छ,’ शर्माले भन्नुभयो, ‘संघीय सरकारमार्फत गर्ने कामहरुमा संधै लागिरहन्छु ।’
काकरभिट्टा खानेपानीको आगामी निर्वाचनमा भोटिङ मेशिनको प्रयोगबारे छलफल भइरहेको आफुले सुनेका भन्दै प्रविधिलाई विश्वास गरेर भोटिङ मेशिनको प्रयोग गर्न शर्माले सुझाव दिनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि संविधानसभा सदस्य रविन कोइरालाले खानेपानीको निर्वाचनमा अहिले नै भोटिङ मेशिनको प्रयोग गर्न नहुने भन्दै पहिला त्यसबारे सबै जानकार हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै अर्का बिशिष्ट अतिथि नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले सामाजिक संस्थाहरुमा राजनितिक गन्ध आउन दिनु नहुने बताउनु भयो । वहाँले खानेपानीको अध्यक्षको प्रतिवेदनमा विभिन्न आयोजनाका लागि संघीय सांसद विश्वप्रकाश शर्मा लगायत तत्कालिन समयमा योगदान गर्ने व्यक्तिहरुको बारेमा उल्लेख नगरिएको बिषयमा गुनासो समेत गर्नु भयो ।
कार्यक्रममा मेचीनगरका पुर्व प्रमुख विमल आचार्य र नगरउपप्रमुख मिना उप्रेतीले खानेपानीको पर्याप्त उपलब्धताका लागि सबैले सहयोगी भुमिका खेल्नु पर्ने धारणा राख्नु भयो । कार्यक्रमकै बिच भोटिङ मेशिनको प्रयोगका बारेमा मेशिनका निर्माता लक्ष्मण रिमालले मेशीनको प्राविधिक पक्षमा जानकारी दिनु भएको थियो । वहाँले मेशिनको प्रयोगले सुरक्षीत मतदान हुने बताउनु भयो ।
काकरभिट्टा खानेपानी संस्थाका अध्यक्ष राजकुमार पराजुलीले संस्थाको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा संस्थालाई महत्वपूण योगदान गरेको भन्दै संविधानसभा सदस्य रविन कोइराला तथा वहाँकी धर्मपत्नी तीर्था कोइराला र पुर्व नगरप्रमुख विमल आचार्य वहाँकी धर्मपत्नी गिता आचार्यलाई सम्मान समेत गरिएको थियो ।
संस्थाले उत्कृष्ट कर्मचारीका रुपमा सुस्मीता भट्टराईलाई नगद ७ हजार सहित सम्मान पत्रले सम्मान गरेको थियो । त्यस्तै संस्थाबाट अवकाश प्राप्त कर्मचारीहरु केशव पोखरेल र लक्ष्मी नारायण माझीलाई समेत सम्मान सहित विदाई गरेको थियो । जिल्ला बाहिर भएकाले केशव पोखरेल सम्मान ग्रहण गर्न उपस्थीत हुन भएको थिएन ।
अध्यक्ष पराजुलीको सभापतित्वमा संस्थाकै सभाहलमा सम्पन्न साधारण सभा उपाध्यक्ष गोविन्द गिरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव दिलिपजंग सुब्बाको संञ्चालनमा सम्पन्न भएको थियो ।