धुलाबारी, वैशाख १५ । साहित्यकार तेराख प्रतिष्ठानले एकै साथ साहित्यकार, कृषक र विद्यार्थीलाई सम्मान गरेको छ । प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर आज धुलाबारी माविमा आयोजित कार्यक्रममा तेराख महाकवि साहित्यिक पुरस्कारबाट दुई जना साहित्यकारलाई सम्मानित गरेको छ । भारत आसामका प्रसिद्ध नेपाली भाषी साहित्यकार विनोद खनाललाई नगद ४५ हजार सहित सम्मान पत्र सहित तेराख महाकवि साहित्यिक पुरस्कारबाट सम्मानित गरेको हो । त्यस्तै सोही पुरस्कारबाट इलामका साहित्यकार तथा लेखक प्राज्ञ रविमान लम्जेललाई समेत सम्मानित गरिएको प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडाले बताउनु भयो । लम्जेललाई समेत ४५ हजार नगद र सम्मान पत्रले सम्मानित गरिएको खतिवडाले बताउनुभयो ।
त्यस्तै उत्कृष्ट कृषकका रुपमा मेचीनगर ९ का कृषक खड्ग बहादुर अधिकारीलाई नगद २१ हजार र सम्मान पत्रद्वारा मधुसुधन उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गरिएको छ । त्यस्तै पद्मादेवि छात्रा पुरस्कारबाट नगद १५ हजार र सम्मान पत्रले धुलाबारी माविबाट उत्कृष्ट अंक ल्याएर कक्षा १२ उतिर्ण पवित्रा न्यौपानेलाई सम्मानित गरिएको छ । न्यौपाने अध्ययनको शिलशिलामा जिल्ला बाहिर रहेकाले उहाँकी आमा कमला न्यौपानेले सम्मान पत्र ग्रहण गर्नु भएको थियो ।
सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा कवि केशव आचार्य, बिषेश अतिथि प्राज्ञ सुभद्रा अर्याल, प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेल, संरक्षक लेखनाथ खतिवडाले सम्मान पत्र, दोसल्ला र नगदले सम्मानित गर्नु भएको थियो । कार्यक्रममा सम्मानितहरुको सम्मान पत्र प्रतिष्ठानकी सदस्य शुशिला खतिवडा र लिना भण्डारीले वाचन गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि आचार्य, बिशिष्ट अतिथि अर्याल, पत्रकार महासंघका पुर्व महासचिव चन्द्र भण्डारी, सम्मानितका तर्फबाट विनोद खनाल र रविमान लम्जेलले प्रतिष्ठानले गरेका कार्यले नेपाली भाषा, संस्कृति र साहित्यलाई सकारात्मक योगदानसंग साहित्यका तेराखलाई जीवन्त बनाउन सहयोग पुगेको बताएका थिए ।
प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडाले संस्थाका बारेमा जानकारी गराउनु भएको कार्यक्रम सचिव जयप्रसाद भण्डारी र सदस्य मुना रानाको संञ्चालनमा सम्पन्न भएको थियो । सोही अवसरमा प्रतिष्ठानद्वारा प्रकाशन गरिएको २०८१ सालको भित्तेपात्रो समेत सार्वजनिक गरिएको छ । आयोजक र अतिथिहरुले संयुक्त रुपमा भित्तेपात्रको सार्वजनिकिकरण गर्नु भएको थियो ।