बिर्तामोड, असोज २७ ।
झापाका पत्रकार महिलाहरुको छाता संगठन नारी सञ्चार गृहको अध्यक्षमा भीमा शिवाकोटी सर्वसम्मत चयन हुनु भएको छ । गृहको आज विर्तामोडमा सम्पन्न तेस्रो अधिवेशनले शिवाकोटीको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
शिवाकोटी नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष एवम् कञ्चनजंघा एफएममा आवद्ध पत्रकार हुनु हुन्छ । यस अघि उहाँ नारी सञ्चार गृहको उपाध्यक्ष रहनु भएको थियो । समितिको उपाध्यक्षमा रेजिना रोदन, सचिवमा भूमिका सुब्बा, सहसचिवमा सुशिला संग्रौला, कोषाध्यक्षमा जोसना श्रेष्ठलगायत चयन भएका छन् ।
पत्रकार महिलालाई पत्रकारिता क्षेत्रमा लाग्न, टिकाउन र व्यावसायिक सुरक्षा प्रदान गर्न अग्रणी भूमिका निर्वाह गरिरहेको नारी सञ्चार गृहको तेस्रो अधिवेशन तथा छैठौं साधारणसभा आज विहान विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराको प्रमुख आतिथ्यमा उद्घाटन भएको थियो ।
संस्थाकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का सदस्य तीर्थ सिग्देल, महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, गृहकी संस्थापक अध्यक्ष साबित्रा दाहाल, आदिवासी जनजाति पत्रकार महासंघका प्रदेश इञ्चार्ज दिपीन राई, प्रेस संगठन नेपालका जिल्ला अध्यक्ष मुक्ति पौडेललगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
नवनिर्वाचित कार्यसमितिलाई आज प्रदेश १ सरकारकी सामाजिक बिकास राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यतामा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।
पद हस्तान्तरण कार्यक्रममा बोल्दै राज्यमन्त्री गजमेरले संस्थागत रुपमा पत्रकार महिलाहरुले आफुलाई अब्बल साबित गर्दै नारी सञ्चार गृहलाई अग्रणी संस्थाको रुपमा बिकास गर्नु भएको बताउनु भएको थियो ।