झापा, वैशाख १० । एभरेष्ट र एमडीएच मसलाका विभिन्न उत्पादनमा क्यान्सर गराउने किटनाशक बिषाधीको प्रयोग भएको दाबी गरिएको छ । हङकङको खाद्य सुरक्षा विभागले भारतबाट उत्पादन हुने ‘एभरेष्ट’ र ‘एमडीएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक एथिलिन अक्साइड पाइएको दाबी गरेको छ ।
अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार एभरेष्ट र एमडीएच ब्राण्डका मसलाका केही उत्पादनहरुमा किटनाशक बिषाधी एथिलियन अक्साईड रहेको पाइएको छ । एलिथियन अक्साईडका कारण मानिसमा क्यान्सर हुन सक्ने परीक्षणबाट पत्ता लागेको छ । हङकङमा अहिले यी दुवै ब्रान्डका मसला खरिद–बिक्री नगर्न भनिएको छ भने सिंगापुरमा एभरेष्ट ब्रान्डको ‘फिस करी मसला’ बजारबाट फिर्ता ल्याउनका लागि निर्देशन दिइएको छ ।
हङकङको सेन्टर फर फुड सेफ्टीले एमडीएचको मद्रास करी पाउडर, साम्भर मसला मिस्क्ड पाउडर र करी पाउडर मिस्क्स्ड मसलामा कीटनाशक एथिलिन अक्साइड पाएको जनाएको हो । साथै सो मसला प्रयोग नगर्न सर्वसाधारणलाई सूचित पनि गराएको छ । हङकङको खाद्य परीक्षण गर्ने संस्थाले भनेको छ, ‘क्यान्सरमा रिसर्च गर्ने एजेन्सीले एथिलिन अक्साइडलाई ग्रुप–१ ‘कार्सिनोजेन’मा राखेको छ । कार्सिनोजेन यस्तो पदार्थ हो, जसमा क्यान्सर गराउने जोखिम हुन्छ ।’
यसैबीच सिंगापुरले एभरेष्ट ब्राण्डका मसल बजारबाट फिर्ता गर्न निर्देशन जारी गरेको छ । सिंगापुरको फुड एजेन्सीले एभरेष्टका मसलाहरुको प्रयोग नगर्न सर्वसाधारणलाई सचेत समेत गराएको छ ।
यसैबीच एभरेष्ट मसलाको उत्पादकको तर्फबाट स्वास्थ्य प्रति सचेत रहेर मात्रै आफ्नो उत्पादन बजारमा जाने बताएको छ । ‘हाम्रो सबै उत्पादन कडा जाँचपछि तयार गरिने र कडाईका साथ जाँच गरे पछि मात्रै बजारमा पठाईने जनाएको छ । ५० बर्ष पुरानो ब्राण्डका रुपमा रहेको एभरेष्टले भनेको छ, ‘हाम्रो उत्पादनमा इन्डियन स्पाइस बोर्ड र एफएसएसएआई समेत सबै एजेन्सीको निगरानी छ ।’
यी मसलाहरु नेपाली बजारमा सजिलै उपलब्ध भइरहेका छन । भारतसंगको खुला सिमाना र अधिकाशं खाद्य पदार्थ भारतबाटै नेपाल आउने भएकाले पनि इभरेष्ट र एमडीएच सहित अन्य भारतिय मसलाको नेपाली बजारमा सहज उपलब्धता रहेको छ ।
अन्तराष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा ।