कोशी प्रदेशका अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीलाई रगत अभाव भएको छ । तत्काल रगत चाहिने बिरामीले पाउन सकिरहेका छैनन । केही समययता कोशी प्रदेशभरकै अस्पताल र ब्लड बैंकमा रगतको अभाव भएको हो । सबै समूहका रगतको मौज्दात सकिएको प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख एवं रक्तसञ्चार सेवा अधिकृत शिवानन्द यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार रगतको अभाव हुँदा दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी, गर्भवती, सुत्केरी, दीर्घ रोगी र नियमित रगत आवश्यक पर्ने अन्य बिरामी मर्कामा परेका छन्। “स्वास्थ्य संस्थामा रगत आवश्यक पर्ने बिरामीको चाप बढ्दो छ । माग अत्यधिक छ,” यादवले भन्नुभयो, “तर आपूर्तिलाई सहज बनाउन सकिएन । सबैतिर अभाव छ ।”
रगतकै कारण बिरामीले सहज उपचार पाउन नसक्ने अवस्था भएको छ । रगतको संकट टार्न रक्तदानको नियमित व्यवस्थासमेत छैन । यादवका अनुसार वैशाख लागेपछि संस्थागत हिसाबले रक्तदान हुन नसक्दा रगत संकलनमा कमी भएको हो ।
बिरामीका आफन्त, सम्पर्कमा आएका व्यक्ति र स्वयंसेवी रक्तदाताबाट रगतको व्यवस्था गर्नुपर्ने अवस्था छ । प्रदेशमा दैनिक करिब २०० पिन्ट रगतको माग रहेको र आपूर्ति भने ५० प्रतिशत पनि हुन सकेको छैन । । ३०० जति संघ संस्थाले वार्षिक कार्यक्रम बनाएर रक्तदान कार्यक्रम गर्ने गरेका छन्। “कोशी प्रदेशमा १० वटा ब्लड बैंक छन,” यादवले भन्नुभयो, “सबैमा अभाव छ । उपायको खोजी भइरहेको छ ।”
कोशी प्रदेशका स्वास्थ्य संस्थामा कोशीसहित मधेश प्रदेश र भारतबाट पनि बिरामी आउँछन्। रगतका लागि बिरामीले सुरक्षाकर्मीको भर पर्नुपर्ने अवस्था छ । “रगत चाहियो भनेर धेरै फोन आउने गरेको छ,” सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेल भन्छन, “मिल्दोजुल्दो समूहको रगत भएकालाई तत्काल बिरामीका आफन्तको सम्पर्कमा पठाएर उपलब्ध गराउने गरिएको छ ।”
प्रदेश टाइम्सबाट ।