मेचीनगर, वैशाख ९ । पछिल्लो समय हरेक १० जना मृगौलाका बिरामी मध्ये ६ जनाको डाइबिटिजका कारण मृगौला बिग्रिएको पाईएको बरिष्ठ फिजिसियन डा आकाश कोइरालाले बताउनु भयो ।
शनिवार धुलाबारीमा केशवराज भण्डारी (के आर) फाउण्डेशनले आयोजना गरेको ‘जटिल रोग र सोको निधानका उपायहरु’ बिषयक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–‘बेलैमा उपचार गराएमा डाइबिटिजका कारण लाग्न सक्ने विभिन्न रोगहरुको उपचार गर्न सकिने बताउनु भयो ।’
डा कोइरालाले दैनिक आधा घण्टा मात्रै स्वास्थ्यमा ख्याल गरे जटिल रोग लाग्नबाट बँच्न सकिने बताउनु भएको छ । बिर्तामोडस्थीत बिर्तासिटि हस्पिटलमा कार्यारत डा कोइरालाले आफुकहाँ उपचारका लागि आउने बिरामीहरुमा डाइबिटिज र प्रेसरका बिरामी सर्वाधिक हुने गरेको जानकारी दिनुभयो । ‘डाइबिटिज लागे पछि त्यसैको उपचार गरेर मात्रै ढुक्क हुन सकिदैंन,’ डा कोइरालाले भन्नुभयो, ‘डाइबिटिजका कारण अन्य थुप्रै रोगहरु लाग्न सक्छन, त्यसका लागि बेलैमा सम्भावित रोगहरुका बारेमा पनि जाँच गर्दै गर्नु पर्छ ।’
डाइबिटिजको उपचारमा बिलम्ब वा लापरवाही गरेमा स्ट्रोक, प्यारालाइसिस, मृगौला रोग, मुटुरोग र आँखारोग निम्तिने उहाँले बताउनु भएको छ । कार्यक्रममा प्रोस्टेट, पायल्स, थाइराइड लगायतका रोगको निदान बारे उहाँले चर्चा गर्दै सहभागीहरुको जिज्ञासाको जवाफ दिनु भएको थियो । स्वस्थ रहनका लागि घर बाहिरका धेरै चीज नखान, दैनिक विहान हिँडडुल गर्न र पानी प्रशस्त पिउन उहाँले सल्लाह दिनु भएको छ । मानिसहरु मोवाइलको लतमा परेका कारण हिँडडुलमा जान नचाहने समस्याले स्वास्थ्यमा गम्भीर आघात परिरहेको उहाँको धारणा थियो ।
बिरामी भएर उपचार गराउनुभन्दा रोग लाग्नै नदिने उपाय खोज्नु बुद्धिमानी हुने उहाँको भनाई छ । औषधि बारे सामान्य ज्ञान नराख्ने र असल डाक्टरको खोजीमा भौतारिने समस्याले बिरामीलाई जटिल मोडतर्फ लगिरहेको हुनसक्ने उहाँको भनाई थियो । ‘कुन डाक्टर गुड र कुन डाक्टर ब्याड भन्ने हुँदैन,’ डा कोइरालाले भन्नुभयो,‘डाइबिटिजको कुरा गर्ने हो भने यसको दवाई अनुभवी फार्मेसीले पनि राम्रोसँग मिलाइदिन सक्छ । ठूलो डाक्टर नै खोजिरहनु पर्छ भन्ने छैन ।’
के आर फाउण्डेशनका अध्यक्ष सबिता भण्डारी भेटवालको सभापतित्वमा सम्पन्न कार्यक्रमको औचित्यमाथी कार्यक्रमका संयोजक लेखनाथ खतिवडाले प्रकाश पार्नु भएको थियो । मेची उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न साक्षात्कार कार्यक्रमको सञ्चालन फाउण्डेशनका सचिव गोपाल बस्नेतले गर्नु भएको थियो ।