काठमाडौं ।
उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्रयाक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको छ ।
आज बसेको उपत्यका नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो ।
उपत्यकामा समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै नगरपालिका फोरमले नियन्त्रणको लागि तदारुकता देखाएको हो ।
रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्रयाक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।
‘स्वास्थ्य मन्त्रालयको टीमसहित भोलिबाटै उपत्यकाका १८ वटै पालिकामा तालिका बनाएरै कन्ट्रयाक्ट ट्रेसिङ र टेस्टिङको कार्य अघि बढाऔँछौं,’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘हामी उपत्यकाका सबै पालिकामा कन्ट्रयाक्ट ट्रेसिङको दायरामा परेका नागरिकको टेस्टिङ गर्छौ । यसमा स्वास्थ्य मन्त्रालयका अनुभवी टीम पनि हाम्रो साथमा रहने छ ।’
शाक्यले अहिलेसम्म उपत्यकाका १८ वटै पालिकाको तथ्याङ्क अनुसार २७ सय ४६ जना संक्रमित भेटिएको भन्दै त्यसका आधारमा करीब २८ हजार पाँच सयको कन्ट्रयाक्ट ट्रेसिङ गर्नु पर्ने हुनसक्ने बताउनुभयो ।
उहाँले ढिलोमा १५ गतेसम्ममा ती सबैको परीक्षण सक्ने गरी तालिका बनाएर अघि बढ्ने पनि जानकारी दिनुभयो ।
‘पीसीआर औषधी होइन त्यसैलै रहरले परीक्षण गर्नेहरुहरुलाई होइन ट्रेसिङको दायरामा परेका, लुकेर बसेका रहेछन् भने पनि ती सबैको खोजिखोजी हामी परीक्षण गछौं । सञ्चारमाध्ययमले पनि सहयोग गर्नुहोला ।’
बैठकले उपत्यकाका स्थानीय तहबाट प्रवाह हुँदै आएका सेवाहरु मध्ये अत्यावश्यक बाहेकका सेवालाई भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ ।
उपत्यकाका स्थानीय तहबाट प्रवाह हुँदै आएका सेवाहरु मध्ये अत्यावश्यक बाहेकका सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकोमा पुनः भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरिएको उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।
‘उपत्यकाका तीन वटै जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधी पनि भदौ १५ गतेसम्म बढाउन आफूहरुले आग्रह गरेको उहाँले बताउनुभयो ।
उहाँले निषेधाज्ञाको अवधी भित्रै कन्ट्रयाक्ट ट्रेसिङको काम सम्पन्न गर्ने गरी अघि बढेको बताउनुभयो । स्वास्थ्य मन्त्रालयले १८ वटा पालिकालाई भोलिबाटै १८ जना फोकल पर्सन तोक्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
बैठकमा उपस्थित मेयरहरुले एकीकृत आइसोलेशन निर्माण गर्ने, डेलडकेटेट एम्बुलेन्सको व्यवस्था हुनुपर्ने, स्वास्थ्य मन्त्रालयले छिटो सूचना दिनुपर्ने जस्ता माग राख्नु भएको थियो ।
बैठकमा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका विज्ञ सल्लाहाकार डाक्टर खेम कार्कीले कोरोना विरुद्धको युद्धमा एक जुट नहुने हो भने कोरोनाले जित्ने बताउनुभयो ।
‘काठमाडौँ भित्र कम्तीमा १५ हजार संक्रमित रहेको हुनसक्ने अनुमान छ,’ उहाँले भन्नुभयो, ‘हामीले त्यो चेन तोड्न सकेनौँ भने अवस्था भयावह हुनसक्छ । त्यसैले २४ सै घण्टा कोरोना नियन्त्रणमा लाग्नुपर्छ ।’
उहाँले मन्त्रालय प्राविधिक सहयोग गर्न तयार रहेको भन्दै सबै पालिकालाई संक्रमित व्यक्तिलाई समूदायबाट हटाएर आइसोलेट गर्नुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले नेपालले महामारी पहिलो पटक भोगेको भन्दै कन्ट्याक्ट ट्रेसिङ गर्ने, परीक्षण गर्ने आइसोलेट गर्ने उपचार गर्ने विधिलाई प्राथमिकता दिनुपर्छ भन्नुभयो । उहाँले धेरै भन्दा धेरै टेस्ट गर्न पनि सुझाव दिनुभयो ।
स्वाथ्य विभागका महानिर्देशक दिपेन्द्र रमण सिंहले आवश्यक जनशक्ति व्यवस्थापनमा विभाग तयार रहेको जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले पछिल्लो समय संक्रमित बढेको भन्दै त्यसले उपत्यकामा संक्रमित धेरै छन् भन्ने प्रमाणित गरेको बताउनुभयो ।