मेचीनगर, वैशाख ४ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पूर्वीनाकालाई नेपालको हितमा प्रयोग गर्नेगरी आफुले सहजीकरण गर्ने बताउनु भयो । मेचीनगर नगरपालिकाको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मंगलबार बोल्दै सभामुख घिमिरेले भन्नुभयो, ‘पुर्वीनाकाको समस्या के हो ? किन भारतले समस्या गरिरहेको छ भन्ने कुराका बिषयमा परराष्ट्र मन्त्री मार्फत कुरा गरेको छु ।’ हिजै मात्रै पनि आफुले परराष्ट्र मन्त्रीसंग पुर्वीनाकाका बारेमा चासो राखेको घिमिरेले बताउनु भयो । ‘मैले झापा जाँदैछु पुर्वीनाकाको कुरा के भएको हो भनेर हिजै मात्रै परराष्ट्र मन्त्रीलाई सोधेको थिएं,’ सभामुख घिमिरेले भन्नुभयो, ‘भारतले चित्तबुद्धो जवाफ नपठाएकाले कुराकानी भइरहेको परराष्ट्र मन्त्रीले भन्नु भएको छ ।’
पुर्वीनाकाको अवस्थालाई सहज बनाएर नेपालको हितमा प्रयोग गर्ने गरी आफुले सरकारमार्फत भारतसंग कुटनितिक पहल गर्ने सभामुख घिमिरेले बताउनु भयो ।
कार्यक्रममा मेचीनगरका पूर्व नगरप्रमुख विमल आचार्यले राजनीति दलहरुले सत्ताका लागि मात्रै गठबन्धन गर्ने गरेको भन्दै व्यापार व्यवशायलाई उकास्न पनि गठबन्धन गर्नु पर्ने धारणा राख्नु भयो ।
पुर्व प्रदेश सांसद श्रीप्रसाद मैनालीले भारततर्फबाट पुर्वीनाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरुलाई यातायातमा सहजीकरण गर्न सरकारले बिषेश ध्यान दिनु पर्ने बताउनु भयो ।
नेपाली काँग्रेस झापाका उपसभापति तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य केशवराज पाण्डेले नेपाल र चीनको व्यापारका लागि सबैभन्दा नजिक
को नाका भएर ओलाङचुङगोला नाका सरकारको प्राथमिकतामा नपरेकाले त्यसलाई प्रथामिकतामा राख्नु पर्ने धारणा राख्नु भयो । पाण्डेले भन्सार गरेर नेपाल प्रवेश गरेका सामानहरुलाई देशभित्रै अनेकौं ठाउँमा सुरक्षा निकायले गर्ने जाँचका कारण व्यवशायीहरु निरुत्साहित भएको बताउँनु भयो । सहि ढंगबाट र भन्सार तिरेर व्यावशाय गर्छु भन्नेहरुलाई भन्दा भन्सार छलेर व्यवशाय गर्नेहरुका लागि सजिलो भएकाले पनि राम्रो काम गर्ने व्यवशायीहरु धराशायी बन्दै गएको पाण्डेले बताउनुभयो ।
पाण्डेले पुर्वीनाकालाई तेस्रो मुलुकका नागरिक सजिलै आउने गरी व्यवस्थापन गर्न सकिएमा बंगलादेश र दक्षीण भारतका नागरिकहरुलाई नेपालको पहाडी भुभागमा घुमाउन सकिने र त्यसले नेपालको पर्यटन व्यवशायले छलाङ मार्ने भएकाले त्यसका लागि पुर्वीनाका तेस्रो देशका नागरिकका लागि खुला गर्न भारतसंग पहल गर्न सभामुखसंग आग्रह गर्नु भयो ।
यस्तै कार्यक्रममा मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले व्यापार सहज गर्ने हो भने भारतको कलकत्तामा गरिने ल्याव टेष्ट पानीट्याङकीमा राख्न भारत सरकारसंग लबिङ गर्न सभामुखलाई आग्रह गर्नु भयो । सहकारी अभियन्ता रामचन्द्र उप्रेतीले नेपालमा उत्पादन भएको चियाको ९० प्रतिशत बजार भारत भएकाले नेपाली चिया भारत निकासीका लागि भारतले विभिन्न समस्या देखाउने गरेकाले त्यसलाई सहज बनाउन सभामुखको ध्यानाकर्षण गर्नु भयो । ‘भारतसंगको चिया निकासीको समस्या समाधान भएन भने नेपाली चिया क्षेत्र ध्वस्त हुन्छ,’ उप्रेतीले भन्नुभयो ।
मेची उद्योग बाणिज्य संघका महासचिव दिनेश शाक्यले काकरभिट्टा नाका पूर्णरुपमा खुला नहुँदा आयात निर्यात व्यवशायमा समस्या भइरहेको बताउनु भयो । वहाँले नेपाली भेनियर भारत निकासीमा समेत नेपाल सरकारले धेरै कर लगाएको प्रति सभामुखको ध्यानाकर्षण गराउनु भयो । अगुवा सुपारी किसान निलकण्ठ तिवारीले नेपालमा उत्पादित सुपारी बिक्रि नहुने तर विदेशबाट व्यापारीहरुले आयात गरेको सुपारी नेपालकोबाटो भएर भारत जाने गरेकाले वास्तविक सुपारी किसान समस्यामा परेको सभामुखलाई जानकारी गराउनु भयो ।
कार्यक्रमकै बीच मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगरका कृषि, पर्यटन, व्यापार, भारतले विदेशी पर्यटकलाई नाकामा रोक लगाएको लगायतका विषयमा तयार गरेको ज्ञापनपत्र सभामुख घिमिरेलाई हस्तान्तरण गर्नुभयो । उपप्रमुख मीना पोखरेल उप्रेतीले स्वागत गरेको कार्यक्रम मेचीनगर ९ का वडा अध्यक्ष कञ्चनकुमार तामाङको सञ्चालनमा सम्पन्न भएको थियो ।